नेपाल कृषि प्रधान देश हो । तर वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।यसबाट के स्पष्ट हुन्छ भने अब नेपालीहरु कृषि कर्ममा कम छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको पनि छ । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । यसको मतलभ हरेक आर्थिक बर्षमा यस्ता खाद्यान्नहरुको आयात बढ्दो छ ।
कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदैआइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै रु एक अर्ब ३५ करोड मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ ।जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब छ करोडको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो । चालु आवको सात महिनामा रु दुई अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ ।
गत आवको सोही अवधिमा भने रु दुई अर्ब ९७ करोड मूल्य पर्ने छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ । यो तथ्यांकले के देखाउछ भने नेपाल अब पूरै परनिर्भरतर्फ अग्रसर हुदैछ । कृषि प्रधान देश भनिएपनि यसरी बढेको धान चामल आयातले देशको अवस्था खराब रहेको देखाउछ । कृषिमा आत्मनिर्भर हुन नसकेको खण्डमा भावि पुस्ता पूरै परनिर्भर हुने निश्चित छ ।
















