निजगढ,बाराका स्थानीय तहहरुले संविधानले प्रदान गरेको अधिकारअनुसार कवाडी कर र पूर्वाधार उपयोग कर संकलन गरेको बताएका छन् ।बाराको कलैया उपमहानगरपालिका मेयर विनोद साह, र जीतपुरसिमराका राजन पौडेल, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, बरियारपुर नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव तथा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवाल र करैयामाई गाउँपालिका अध्यक्ष बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहहरुले पटके कर नभई गाउँपालिका तथा नगरपालिकाको वित्तीय अधिकार क्षेत्रभित्र कवाडी कर तथा पूर्वाधार उपयोग कर संकलन गरेको जानकारी गराएका हुन ।
कलैया उपमहानगरपालिकाको कार्यालयमा कात्तिक २६ गते बारा जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुको बैठकले संविधानले प्रदान गरेको अधिकार अनुसार कवाडी कर र पूर्वाधार उपयोग कर संकलन गरिएको साझा धारणा बुधवार सार्वजनिक गरेका हुन ।गृह मन्त्रालयले कात्तिक १२ गते राजमार्गमा गुड्ने सवारी साधनबाट स्थानीय तहले आफुखुशी असुल गरिरहेको ‘पटके कर’ नियन्त्रण गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि बाराका स्थानीय तहले यस्तो प्रतिक्रिया दिएका हुन ।

















