काठमाण्डौं,युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताउनुभएको छ ।बेलायतमा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताउनुभएको हो ।सम्मेलनमा बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्ने चार–चरण योजना सुनाएपछि जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो ।

स्टार्मरले फ्रान्स र अरु केही युरोपेली देशसँग मिलेर युक्रेन युद्धविरामसम्बन्धी प्रस्ताव तयार पारिने बताउनुभएको छ । यस प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष राख्ने उहाँले बताउनुभएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसको विवादित वार्तापछि युक्रेन युद्धबारे छलफल गर्न र युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन बेलायती प्रधानमन्त्री स्टारमरले युरोपेली देश तथा क्यानडाका नेताहरूको बैठक बोलाउनुभएको थियो ।

बैठकमा इटाली, फ्रान्स, जर्मनी र क्यानडाका राष्ट्रप्रमुख सहभागी भएका छन् । यस्तै नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, पोल्यान्ड, स्पेन, फिनल्यान्ड, स्वीडेन, चेक रिपब्लिक र रोमानियाका नेतासमेत वैठकमा सहभागी भएका छन् । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बैठकमा सम्बोधन गर्दै युरोप ब्युँझिएको बताउनुभएको छ ।
यसैबीच बेलायत र युक्रेनबीच साढे दुई अर्ब पाउन्डको ऋण सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । युक्रेनले यो रकम सैन्य उपकरण खरिदमा प्रयोग गर्ने बताएको छ ।यसअघि गएको शुक्रवार युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच चर्काचर्की भएपछि रुससँगको शान्ति सम्झौता र खनिज सम्झौताबारेको बैठक निष्कर्षविना टुङ्गिएको थियो ।

Leave a Reply