गौर,गौर प्रादेशिक अस्पतालका चिकित्सकले तलब भत्ताको माग गर्दै ओपिडी सेवा बन्द गरेपछि बिरामी मारमा परेका छन् । अस्पताल बन्द भएको २ दिन बितिसक्दा पनि सेवा सुचारु गर्नेतर्फ सरोकारवाला निकायको ध्यान गएको छैन ।
विगत तीन महिनादेखि तलब उपलब्ध नगराएको भन्दै चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेपछि बिरामी मारमा परेका हुन् ।तलब भत्ताको माग गर्दै माघ ७ गतेदेखि चिकित्सकले सेवा बन्द गरेका हुन् । गौर प्रादेशिक अस्पताल राजनीतिक हस्तक्षेपका कारण विगत ६ महिनादेखि चिकित्सक र स्वास्थ्यकर्मी पीडित रहेको आन्दोलनरत चिकित्सकले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले विगत ६ महिनादेखि भत्ता र तीन महिनादेखि तलब पाउन नसकेको विज्ञप्तिमा भनिएको छ । आफ्ना माग पुरा नहुँदासम्म अस्पतालको सबै सेवा बन्द हुने अस्पतालका चिकित्सक डा. गोपाल गुप्ताले जानकारी दिनुभयो ।अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले यसअघि नै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएर माग पुरा नभए सेवा ठप्प पार्ने चेतावनी दिएका थिए ।
















