यस वर्षको होली पर्व भित्रिएको छ । वसन्त ऋतुअन्तर्गत फागुन पूर्णिमाको दिन यो पर्व मनाइने गरिन्छ । विष्णुपुराणमा उल्लेख गरिएअनुसार दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिकाको नाममा यो पर्वको नामाकरण भएको हो । होलिकाको दहन भएको खुसीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व धुमधामका साथ मनाइने गर्छन् ।

हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नु’ भनेर कडा निर्देशन जारी गरेको थियो ।

तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान विष्णुको पूजा गर्दै रहे । छोरा प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास भएको थियो । ब्रह्माबाट आगोमा नजल्ने बरदान पाएकी होलीकाले प्रह्लादलाई काँखमा राखेर चारैतिर पराललगायत जल्ने बस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो । यही कारणले प्रह्लादलाई जलाउन लगाइएको ओगमा उल्टै होलिकानै जलेर भष्म भइन् ।

असत्यको बाटो अपनाएको कारणले बरदान फलिफाप भएन । असत्यमाथि सत्यको विजय भयो । त्यसपछि, सोही तीथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

त्यसैले पनि होली पर्वको महत्व परापूर्वकालदेखि नै चल्दै आएको छ । यस वर्षको होली बिहीवार र शुक्रबार परेको हुनाले होलीमा आपसी सद्भाव कायम राखौं, कोरोनाको संक्रमणबाट पनि टाढैं बसौं र सभ्य तरिकाले होली पर्व मनाऔं, होली पर्व २०७८ को सबैमा हार्दिक मंगलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here