पुष्पराज खतिवडा
बारा,नेपाल प्रहरी र ट्राफिक प्रहरीले बाराकाकिसानहरुसंग अबैध असुली गर्ने गरेको किसानहरुले गुनासो गरेका छन ।
आफूहरुले उत्पादन गरेको कृषि उपज बिक्रीको लागि लैजाने क्रममा चेक जाँचको नाममा राजमार्ग र ग्रामीण सडकमा बसेका प्रहरीले आफूहरुलाई अनावश्यक दुःख दिने गरेको जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ८ बधुवनका किसान साधुराम थापाले गुनासो गर्नुभयो ।

सिमरा– कोल्हवी सडक, भोडहा– कलैया सडक,झिट्कैया– कलैया, मधुवन– कोल्हवीलगायत ग्रामीण र सवारी साधनको न्यून चाप हुने सडकहरुको प्रयोग गरेर कृषकले उत्पादन गरेको तरकारी र खाद्यान्न बिक्रीको लागि विभिन्न शहरबजारमा लैजाने क्रममा किसान र साना व्यपारीलाई ट्राफिक र जनपद प्रहरीले अनावश्यक दुःख दिने गरेको थापाको भनाई छ ।
केही दिनअघि प्रहरीले करैयामाई गाउँपालिका वडा नम्बर ६ सेडवाका किसान निरजकुमार चौधरीले आफूले उत्पादन गरेको काउली मोटरसाइकलमा राखेर जीतपुरसिमराको डुमरवाना बजार लैजाँदै गरेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालि वडा नम्बर १८, १२ र १५ को सीमानामा पर्ने बालगंगा पुलको एकान्त स्थानमा बसेको ट्राफिक प्रहरीको टोलीले ५ सय रुपैया जरिवाना तिराएका थिए ।

चौधरीको सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव नै खोसेर प्रहरी हबल्दार विनोदप्रसाद यादवले जरिवाना रसिद थमाएका हुन ।किसान चौधरीले जरिवाना नतिराउन धेरै अनुनय विनय गर्दा पनि प्रहरीले आफ्नो समस्या नै नसुनी जरिवाना तिराएको बताउनुभयो । ‘निक्कै अनुनय विनय गरेँ, उहाँले भन्नुभयो, तर किसानको पीडा बुझ्ने कोसिस नै गरेनन, उल्टै हप्कीदप्की गर्दै पैसा असुलेरै छोडे ।’ आफूले के गल्ति गरेको हो वा होइन कुनै जानकारी नै नदिएर जरिवाना तिराएको उहाँको भनाई छ ।

‘एक दिनमा बल्लतल्ल १ सय रुपैया पनि आम्दानी हुदैन, चौधरीले भन्नुभयो, ५ सय रुपैया प्रहरीलाई बुझाउनु परेपछि बालबच्चालाई के ख्वाउनु, कसरी गुजारा चलाउनु ।’बारीमा उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन सजिलो हुने भएकोले चौधरीले ऋण काढेर एउटा पुरानो मोटरसाइकल किन्नुभएको थियो र त्यसैको प्रयोगबाट उहाँले बजारसम्म तरकारी पु¥याउने गर्दैआउनुभएको छ ।ट्राफिक प्रहरी सहायक निरीक्षक पृथ्वीनारायण प्रसाद यादवको कमाण्डमा रहेको प्रहरी टोलीले किसान चौधरीमाथि यस्तो दुव्र्यवहार गर्दै जरिवानको नाममा रकम असुली गरेको हो ।

चौधरीलाई मात्र होइन, ट्राफिक प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलियाका किसान मोजायद अंसारीमाथि पनि त्यस्तै व्यवहार गरेको छ । केही दिनअघि डुमरवानाबाट पिकअफ भ्यानमा राखेर लैनो गाई घरतर्फ ल्याउँदै गर्दा ट्राफिक प्रहरीको टोलीले गाईलाई ओराल्न आदेश दिएका थिए । ‘अनेक कुरा गरेर धम्काए, दुःख दिए, गाई झार्न भने । अन्त्यमा ५ सय रुपैया नगद हातमा हाल्देपछि मात्रै छाडे ।’प्रहरीले उक्त रकमको रसिद पनि नदिएको अन्सारीका अनुसारले सुनाउनुभयो ।

यसैगरी जिउँदो माछा ढुवानी गरेर जिल्लाबाट बाहिर लैजाने क्रममा पनि प्रहरीले दुःख दिने गरेको किसानहरुले बताएका छन । ‘गौडैपिच्छे बसेका प्रहरीलाई माछा या पैसा नतिरे गुन्ज्यास नै छैन’, बारा माछा उत्पादक संघका अध्यक्ष जंगबहादुर साहले भन्नुभयो, प्रतिवाद गर्दा सुनिदिने कोही हुदैनन, उल्टै गाडीमै माछा कुहिएला नि भनेर पो थर्काउँछन् ।’ट्राफिक प्रहरीको व्यवहारले आफूहरु आजित बनेको उहाँले सुनाउनुभयो ।बाराका विभिन्न भागबाट माछा उत्पादक किसान र व्यपारीले जिउदो माछा पिकअप गाडीमा राखेर बिक्रीको लागिकाठमाण्डौं, पोखरालगायतका शहरमापु¥याएर बिक्री गर्ने गरेका छन ।

ग्रामीण किसानले पालेका चौपायाका लागि खुवाउनु पर्ने दाना, पराल, भुस लोड गरिएका सवारी पनि प्रहरीका निसानीमा पर्दैआएका छन । नेपाली किसानले उत्पादन गरेका कृषि उत्पादन ओसार पसारमा प्रहरीले निकै दुःख दिने गरेको किसानहरुको गुनासो छ ।बाराबाट काटेको पराल ट्रकमा चितवन, पोखरा पु¥याएर बिक्री गर्दै आएका कलैया उपमहानगरपालिका वडा नम्बर २४ सखुईका दिपेश कुर्मीले नेपाली किसान र कृषि उत्पादनप्रति सुरक्षा निकाय सधै अनुदार देखिएको बताउनुभयो । किसानलाई दुःख दिने र ठग्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाई छ ।किसानका गुनासोसहितको हाम्रो प्रश्नमा ट्राफिक प्रहरी कार्यालय बाराकी प्रमुख प्रहरी निरिक्षक नीरु दुवालले किसानलाई दुःख दिने कुरा जायज नभएको बताउनुभयो । ‘सडक सुरक्षालाई ध्यानमा राख्दै विशेष गरी ग्रामीण सडकहरुमा किसानप्रति नरम हुने भन्ने नै नीति छ, उहाँले भन्नुभयो, कुनै प्रहरीले केहीकमजोरी गरेको भए त्यसलाई सच्याइनेछ ।’किसान र कृषि उत्पादन बिक्रीमा लैजान ल्याउन सुरक्षित विधि अपनाउन पनि जिल्ला प्रमुख ट्राफिक प्रहरी निरीक्षक दुवालले आग्रह गर्नुभएको छ ।

Leave a Reply