कलैया,आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पालिकाहरुलाई दिने वित्तीय समानीकरण अनुदान वितरण गर्न सिफारिस गरेको छ ।
बारा जिल्लामा सबैभन्दा बढी अनुदान कलैया उपमहानगरपालिकाले पाएको छ । कलैया उपमहानगरपालिकाले २५ करोड ५२ लाख अनुदान पाउने भएको हो ।जिल्लाको अर्को उपमहानगरपालिका जीतपुरसिमराले भने २४ करोड ९७ लाख अनुदान पाउने भएको छ । त्यसैगरी पाँच वटा नगरपालिकामा महागढीमाई नगरपालिकाले सबैभन्दा बढी अनुदान पाएको छ । महागढीमाईले १४ करोड ६२ लाख, कोल्हबी नगरपालिकाले १३ करोड ६६ लाख, सिम्रौनगढ नगरपालिकाले १३ करोड ६५ लाख, निजगढ नगरपालिकाले ११ करोड ८९ लाख र पचरौता नगरपालिकाले ११ करोड २७ लाख प्राप्त गरेको छ ।
त्यसैगरी गाउँपालिका मध्ये सुवर्ण गाउँपालिकाले सबैभन्दा बढी अनुदान पाएको छ । सुवर्णले १० करोड २९ लाख अनुदान पाएको हो । त्यस्तै आदर्श कोतवाल गाउँपालिकाले १० करोड १५ लाख, बारागढी गाउँपालिकाले १० करोड ९ लाख, प्रसौनी गाउँपालिकाले १० करोड ७ लाख, करैयामाई गाउँपालिकाले १० करोड ६ लाख, परवानीपुर गाउँपालिकाले ९ करोड ८० लाख, विश्रामपुर गाउँपालिकाले ९ करोड ६४, देवताल गाउँपालिकाले ९ करोड ३२ लाख, फेटा गाउँपालिकाले १० करोड ४ लाख अनुदान पाउने भएको छ ।संघीय सरकारले प्रदेश र स्थानीय तहमा कुल चार वटा अनुदान पठाउदैआएको छ । तल्लो तहको सरकारले आफ्नो बजेट बनाएर बिना सर्त खर्च गर्न सक्ने अनुदानको रुपमा वित्तीय समानीकरण अनुदानको लागि सिफारिस भएको हो ।


















