नरेश गुप्ता
बरियारपुर,विद्यालयमा अध्ययन नगर्ने छात्राहरुलाई पनि साईकल वितरण गरिएको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका छन ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले विद्यालयमा अध्ययन नगर्ने छात्राहरुलाई पनि साईकल वितरण गरिएपछि स्थानीयले विरोध जनाएका हुन ।
विद्यालयको प्रधानाध्यापक संतोष ठाकुर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीभगवान पटेलको मिलोमतोमा प्रदेश सरकारको बेटी बचाऊ, बेटी पढाउ, कार्यक्रम अन्तरगत विद्यालयबाहिर रहेका ८ जना छात्राहरुलाई साईकल वितरण गरिएपछि स्थानीय शिवनाथ यादवको अगुवाइमा स्थानीयहरुले बुधबार दिउसो विद्यालय मै पुगेर विरोध गरेका हुन ।
विद्यालयको हाजिरी रजिस्ट्ररमा एकजना बुहारीसहित १७ जना छात्राहरुको नाम दर्ता भएको देखिए पनि ८ जना छात्राहरु विद्यालयमा पठनपाठन गर्न आएको छैनन । विद्यालयमा पढन नआउनेहरुलाई समेत साईकल वितरण गरेपछि आफूहरुले विरोध गर्नु परेको यादवले बताउनुभयो ।
स्थानीयको विरोधपछि नगर प्रमुख उपेन्द्रप्रसाद यादवलेसमेत सो विद्यालयको निरीक्षण गरि प्रधानाध्यापक ठाकुरसंग तत्काल साईकल वितरणको भरपाई र विद्यार्थी संख्या नगरपालिकामा पेस गर्न निर्देशन दिनु भएको छ । विद्यालयका प्रधानाध्यापक ठाकुरले साईकल वितरणमा कुनै अनियमितता नभएको दाबी गर्नु भएको छ ।
करिव ५ सयभन्दा बढी विद्यार्थी अध्यनरत विद्यालयमा शौचालयको उचित प्रवन्धसमेत नभएको अभिभावकहरुले गुनासो गरेका छन । शौचालय अभावमा बालबालिकाहरुले खुल्ला स्थानमा दिशा पिशाब गर्दै आएको उनीहरुको भनाइ छ । महागढीमाई नगरपालिकाबाट भौतिक पूर्वाधार निर्माण शीर्षकमा बर्षेनी बजेट लगेर पनि प्रधानाध्यापक ठाकुर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पटेलको मिलोमतोमा विद्यालयको नाममा आएको बजेट दुरुपयोगमात्र भएको स्थानीयहरुले बताए । गत आर्थिक वर्षमा विद्यालयलाई शौचालय निर्माणको लागि ७ लाख बजेट प्रदान गरिएकोमा शौचालय निर्माण कार्य अधुरो छोडिएको छ ।
त्यसैगरी कक्षा कोठा र फर्निचरको अभावमा विद्यार्थीहरु बोरा ओछ्याएर चिसो भूइमा बसेर पढन बाध्य भएका छन ।
यता विद्यालयका प्रधानाध्यापक ठाकुरले विद्यालयमा आएको बजेट दुपयोग नभएको बताउनुभएको छ । बिगत लामो समयदेखि माध्यमिक तहको कक्षासमेत संचालन हुदै आएको सो विद्यालयमा भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको र शिक्षाको गुणस्तर पनि खस्किएको भन्दै स्थानीय अभिवावकहरु चिन्तित बनेका छन ।