त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जको मुख्य सडक किनारका घरधनी तथा व्यवसायीहरू आफ्नो सम्पत्ति र आवासको अधिकार संरक्षणको माग गर्दै काठमाडौँमा आन्दोलनमा उत्रिएका छन्। सडक विस्तारका क्रममा आफूहरूमाथि अन्याय भएको भन्दै उनीहरूले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
‘वीरगञ्ज मुख्य सडकवासी पीडित समिति’ को ब्यानरमा दिउँसो करिब २ बजे भेला भएका प्रदर्शनकारीहरूले सर्वोच्च अदालत र नेपाल सरकारसँग न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
वीरगञ्जबाट काठमाडौँ पुगेका घरधनी राजेश सौनियार, जवाहीर प्रसाद गुप्ता, कुन्दन रौनियारलगायतले विभिन्न माग लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागिता जनाएका थिए।
प्रदर्शनकारीहरूले त्रिभुवन राजमार्गको काठमाडौँ–हेटौँडा र वीरगञ्ज खण्डमा सर्वोच्च अदालतबाट फरक–फरक फैसला आएको भन्दै आपत्ति जनाएका छन्। एउटै राजमार्गअन्तर्गत पर्ने क्षेत्रहरूमा फरक मापदण्ड लागू गरिएको भन्दै उनीहरूले राज्यको विभेदकारी व्यवहार अन्त्य गर्न माग गरेका हुन्।
‘एउटै त्रिभुवन राजमार्गमा सर्वोच्च अदालतको फैसला फरक–फरक किन रु’ भन्ने प्रश्न उठाउँदै प्रदर्शनकारीहरूले आफूहरूले वर्षौंदेखि राज्यलाई नियमित कर तिर्दै आएको र संविधानले सुनिश्चित गरेको समान अधिकार पाउनुपर्ने बताएका छन्।
आफूसँग वैधानिक जग्गाधनी प्रमाणपुर्जा रहेको तथा दशकौँदेखि नियमानुसार कर बुझाउँदै आएको दाबी गर्दै घरधनीहरूले उचित मुआब्जा र क्षतिपूर्तिबिना आवास तथा सम्पत्ति हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।
उनीहरूले वीरगञ्जका सडक किनारका घरधनीलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन, संविधानप्रदत्त आवास तथा सम्पत्तिको मौलिक हकको संरक्षण गर्न र वीरगञ्जवासीमाथि विभेदपूर्ण नीति तथा निर्णय नगर्न सरकारसँग माग गरेका छन्।
माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले ‘न्याय देऊ, न्याय देऊ’ र ‘नेपाल सरकार, वीरगञ्जवासीलाई न्याय र क्षतिपूर्ति देऊ’ लगायतका नारा लगाउँदै विरोध जनाएका थिए।
आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै उनीहरूले नागरिकको निजी सम्पत्ति र आवासको अधिकारको सम्मान गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

















