हिसाव नै गर्ने हो भने फागुन २१ गते आउनका लागि अब धेरै दिन बाँकी छैन । गत भदौंको अन्तिम साता भएको नव युवाको आन्दोलनले देशमा एक खालको राजनीतिक परिवर्तन भयो र जसका कारण आगामी वर्ष हुनुपर्ने चुनाव लगभग एक वर्ष अगाडि आगामी फागुन २१ मा नै हुदैछ ।चुनाव हुने कि नहुनेमा अझैपनि केही आशंका जस्तो देखिएपछि अब चुनाव टर्ने संभावना भने निकै कम छ । कुनै यस्तै अप्रत्यासित घटना देशमा भयो भने वा कुनै विपत्ति नै आइलाग्यो भने मात्रै चुनाव रोकिएला नत्र चुनाव रोकिने संभावना छैन र अब चुनाव रोक्नुको अर्थ पनि छैन ।
नेपाली काँग्रेसमा अहिले आएर केही समस्या जस्तो देखिएको छ । यद्यपि त्यो उसको आन्तरिक कुरा हो र यसमा निर्वाचन आयोगले पनि बाटो खुला गरिदिइ नै सकेको छ । कांग्रेसीजनहरु बीचको विवाद तत्काल समाधान होला या नहोला तर यसैका कारण चुनाव रोक्ने भन्ने भने अब हुदैन । एक प्रकारले भन्ने हो भने अहिलेको चुनावका लागि अलिक बढी युवा वर्ग उत्साहित देखिएको छ । मतदानमा पनि त उम्मेदवारमा पनि । जीत कसको हुन्छ भन्ने कुरा त मत परिणामले देखाउने हो । तर उठ्ने अधिकार सबैलाई छ ।
मतदान गर्ने अधिकार पनि संबिधानतः उमेर पूरा भएका सबैलाई छ । उनीहरुले कसलाई कसरी रोज्नेछन् त्यो मतदाताको कुरा भयो । देश अब भौतिक र मानसिक दुबै रुपमा चुनावका लागि तयार भएको देखिन्छ ।
जिल्ला जिल्लामा निर्वाचन कार्यालय खडा हुनुलाई सरकार अब चुनावका लागि पनि तयार रहेको देखिन्छ र अबको दुई दिनभित्रमा उम्मेदवारहरुको मनोनयमन परेपछि देश झनै चुनावमय हुने निश्चित छ ।













