काठमाडौं / गत शुक्रबारदेखि तीन वटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। कृष्ण जन्माष्टमीको अवसर पारेर ’कृष्ण लीला’, ’प्रेम गञ्ज’ र ’माइकल अधिकारी’ एकसाथ प्रदर्शनमा आएका हुन ्। तर, अघिल्लो अर्थात् साउनको अन्तिम शुक्रबार भने एउटा पनि नेपाली फिल्म प्रदर्शनमा आएको थिएन ।
’रक्षा बन्धन’को अवसर पारेर प्रदर्शनमा आएका बहुप्रतीक्षित बलिउड फिल्म ’लाल सिंह चड्ढा’ र ’रक्षा बन्धन’का कारण कुनै पनि नेपाली फिल्म उक्त दिन प्रदर्शनमा आउन चाहेनन्। भदौ पहिलो शुक्रबार अरु ठूला फिल्म नहुँदा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आए। तर, शुक्रबारदेखि प्रदर्शनमा आएका सबै फिल्ममा दर्शकको उपस्थिति भने एकदमै न्यून देखिएको छ ।
निर्माता, निर्देशक, कलाकार तथा निर्माणमा संलग्न सबैलाई आफ्नो फिल्म धेरै भन्दा धेरै दिनसम्म हलमा प्रदर्शन होस्, धेरै भन्दा धेरै दर्शकले हेरून भन्ने लाग्छ । तर, पछिल्लो समय धेरै जसो नेपाली फिल्मले हलमा एक हप्ता मात्र टिक्नकै लागि पनि संघर्ष गरिरहेको देख्न सकिन्छ ।
यस वर्ष ’कबड्डी ४’ र ’ए मेरो हजुर ४’ लाई छोड्ने हो भने अधिकांश फिल्म हलमा टिक्नकै लागि संघर्ष गरेका छन् ।
यस्तैमा शुक्रबारदेखि प्रदर्शनमा आएका तीन वटै फिल्म अर्को शुक्रबारसम्म टिक्न संघर्षरत छन्। सबै जसो हलमा तीन वटै फिल्मले एकएक शो पाएका छन्। अपवादमा बीएसआर मुभिजमा ’माइकल अधिकारी’ र ’कृष्ण लीला’ले दुई दुई शो पाएका छन्। तर, पाएका शोमा पनि दर्शकको उपस्थिति न्यून हुँदा पहिलो दिनदेखि नै कति शो रद्द नै गर्नु परेको छ ।
यतिवेला हलमा सबैभन्दा धेरै शो र दर्शकको उपस्थिति रहेको फिल्म ’कार्तिकेय २’ हो। चन्दु मोन्देतीको लेखन तथा निर्देशनमा बनेको तेलुगु फिल्मले बक्स अफिसमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। ’लाल सिंह चड्ढा’ र ’रक्षा बन्धन’का कारण कम शो पाएको ’कार्तिकेय २’ ले बक्स अफिसमा पनि ठूलो बजेटमा बनेका दुवै बलिउड फिल्मलाई पछि पार्ने अनुमान गरिएको छ ।
आगामी शुक्रबारदेखि दुई वटा नेपाली फिल्मसहित एउटा प्रतीक्षित बलिउड फिल्म पनि प्रदर्शनमा आउँदैछ । दिनेश राउतको निर्देशनमा बनेको ’प्रकाश’ यस वर्षको बहुप्रतीक्षित फिल्म हो। जसमा प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन्। सुवर्ण थापाको लेखन तथा निर्देशनमा बनेको मल्टिस्टार फिल्म ’राधा’ पनि शुक्रबारदेखि नै प्रदर्शनमा आउँदैछ ।
यी बाहेक पुरी जगन्नाथको निर्देशनमा बनेको बलिउड फिल्म ’लाइगर’ पनि सोही दिन प्रदर्शनमा आउँदैछ । विजय देवरकोण्डा र अनन्या पाण्डेको मुख्य भूमिका रहेको रोमान्टिक एक्सन कमेडी फिल्म ’लाइगर’लाई नेपालमा पनि प्रतीक्षित फिल्म मानिएको छ । यस्तोमा दर्शकको उपस्थिति शून्य प्रायः रहेका प्रदर्शनरत तीन नेपाली फिल्मले शुक्रबारदेखि हलमा शो पाउने सम्भावना न्यून देखिएको छ ।