वीरगञ्ज,वीरगञ्ज महानगरपालिकामा हैजाको महामारीले समुदाय स्तरमा गम्भीर रूप धारण गरेको छ ।
शुक्रवार वीरगञ्ज– १२ को मुर्ली टोलमा तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । तर, शनिवार एक दिनमै हैजाको सङ्क्रमण अन्य वडाहरूमा पनि फैलिएको छ । शनिवार साँझसम्म हैजा पुष्टि हुने बिरामीको सङ्ख्या ३६ पुगेको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले हैजाको महामारी समुदाय स्तरमै फैलिएको पुष्टि गर्नुभयो । उहाँले वडा नम्बर ३, ११, १२, १३ र ३० मा हैजाका बिरामी भेटिएको जानकारी दिनुभयो ।

हैजा र झाडापखालाका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि वीरगञ्जका अस्पतालहरूमा उपचारको चाप असाधारण रूपमा बढेको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरका अनुसार, हाल नारायणी अस्पतालमा १३ जना, तराई हस्पिटलमा १२ जना, नेशनल मेडिकल कलेजमा ५ जना, अलि अर्थो सेन्टरमा ४ जना र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत छन् ।

अस्पतालहरूमा झाडापखाला र हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या २०० नाघिसकेको सुमनचन्द्रले बताउनुभयो । बिरामी थपिने क्रम नरोइएको उहाँले बताउनुभएको छ ।अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बिरामीलाई बरण्डाको भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको बताउनुभयो । शनिवार साँझसम्म नारायणी अस्पतालमा हैजा पुष्टि भएका १३ सहित ३० भन्दा बढी बिरामीको उपचार भइरहेको छ । डा. सिंहले बिरामीको सङ्ख्या अझै बढ्ने सङ्केत रहेको बताउनुभयो ।

हैजाको महामारीकाबीच दुई जनाको मृत्यु भएको खबरले थप चिन्ता बढाएको छ । शुक्रवार नारायणी अस्पतालमा ३५ वर्षीय एक पुरुष र वीरगञ्ज हेल्थकेयर हस्पिटलमा १९ वर्षीय एक युवतीको मृत्यु भएको डा. सिंहले बताउनुभयो । दुवै बिरामी झाडापखालाबाट सिकिस्त भएपछि अस्पताल ल्याइए पनि अस्पताल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो । डा. सिंहले मृत्युको कारण झाडापखाला वा हैजा हो भन्ने यकिन नभएको र थप अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ ।

हैजाको फैलावट रोक्न स्थानीय, प्रदेश र केन्द्र सरकारले संयुक्त रूपमा तीव्र कदम चालिरहेका छन् । वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, स्वास्थ्य कार्यालय पर्सा, मधेस प्रदेश सरकार र सङ्घीय सरकारको खानेपानी मन्त्रालयले आ–आफ्नो क्षेत्रबाट सक्रियता देखाएका छन् ।मेयर राजेशमान सिंहले शनिवार बिहान वीरगञ्जका सबै अस्पतालका प्रतिनिधिहरूसँग आकस्मिक बैठक गरेर हैजा र झाडापखालाका बिरामीको उपचारमा कुनै कमी नहोस् भन्दै अस्पतालहरूलाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “कुनै पनि बिरामी शय्या अभावमा उपचारबाट वञ्चित भएको सुन्न नपरोस् । यो सङ्कटको घडीमा अस्पताल र चिकित्सकहरूले मानवीयता देखाउनुपर्छ ।”

महानगरले प्रभावित क्षेत्रमा २५ टोली स्वास्थ्यकर्मी परिचालन गरेको छ । टोलीले घर–घरमा पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र बिरामीलाई उपचारका लागि अस्पताल ल्याउने काम गरिरहेका छन् । मेयर सिंहको पहलमा वीरगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरूलाई पनि जोखिमयुक्त वडाहरूमा सचेतना अभियानमा खटाइएको छ । साथै, हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरिएको छ । सिंहले नारायणी अस्पताल पुगेर त्यहाँको अवस्थाको बारेमा समेत जानकारी लिनुभएको थियो ।

सङ्क्रमण बढ्दै गएपछि मधेस प्रदेश सरकार र सङ्घीय खानेपानी मन्त्रालय पनि सक्रिय बढाएका छन् । खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले वीरगञ्जमा पानीको नमुना जाँच सुरु गरेको छ । मोबाइल भ्यानसहितको टोलीले दूषित पानीको स्रोत पहिचान गर्न काम थालेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले बताउनुभयो ।

यस्तै, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा स्वास्थ्य मन्त्रालयबाट डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरसहितको टोली वीरगञ्जमा खटिएको छ ।जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले सबै सरोकारवालासँग समन्वय गरी घरदैलो सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अस्पतालहरूलाई झाडापखाला र हैजाका बिरामीको उपचारमा प्राथमिकता दिन, पर्याप्त शय्या र जनशक्ति व्यवस्थापन गर्न र पूर्ण तयारीमा रहन निर्देशन दिइएको छ ।

स्वास्थ्य कार्यालय पर्सालाई औषधि र परीक्षण किटको व्यवस्थापनको जिम्मेवारी दिइएको छ । साथै, सरसफाइ प्रवद्र्धनका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक र सरोकारवालाहरूको टोली परिचालन गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरिएको छ । सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, मिडिया र दातृ संस्थाहरूसँग समन्वय गरी आवश्यक सामग्री व्यवस्थापन र सघन सचेतना अभियान सञ्चालन गर्ने योजना बनाइएको छ ।

हैजाको महामारीको मूल कारण अझै यकिन हुन सकेको छैन । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, भिब्रियो कोलरी नामक जीवाणु दूषित पानी वा खानामार्फत मानिसमा प्रवेश गरेपछि हैजा लाग्छ । तर, वीरगञ्जमा कुन स्रोतबाट यो रोग फैलियो भन्ने पत्ता लाग्न बाँकी छ । प्रभावित टोलका धाराको पानीको नमुना शुक्रवार राति काठमाडौँको प्रयोगशालामा पठाइएको छ । ठाकुरले नमुनाको नतिजा एक सातामा आउने बताउनुभयो ।

संक्रमण रोक्न विद्यालयमा बिदा
वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।शैक्षिक प्रशासन महाशाखाले एउटा सूचना जारी गर्दै भदौ ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

सूचनामा हैजा सङ्क्रमणबाट बच्न विभिन्न स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गरिएको छ । नागरिकहरूलाई पानी उमालेर मात्र पिउन, शौचालय प्रयोगपछि साबुन पानीले हात धुन, सरसफाइका नियमहरू पालना गर्न, काँचो सागसब्जी तातोपानीले पखालेर मात्र खान र सङ्क्रमणबाट जोगिन आवश्यक उपायहरू अवलम्बन गर्न अनुरोध गरिएको छ ।
महानगरपालिकाले सम्बन्धित सबैमा सूचना कार्यान्वयन गर्न र स्वास्थ्य सुरक्षाप्रति सचेत रहन अपिल गरेको छ । शुक्रवारदेखि वीरगञ्जका विभिन्न वडाहरूमा हैजा सङ्क्रमण पुष्टि भएको छ । जोखिम बढ्दै गएपछि सङ्क्रमण फैलिन दिनबाट रोक्न महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

Leave a Reply