वीरगञ्ज,पर्साको ठोरी गाउँपालिका– ५ स्थित कलश क्याटल गाई फर्मका सञ्चालकहरूबीच फार्म सञ्चालनका लागि सहमति जुटेको छ ।गाई फार्मका सञ्चालकत्रय श्यामबदन यादव, गुरु भट्ट र ईश्वरलाल जोशीलाई गाउँपालिकाले बोलाएर सहमति गराएको गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थितिमा आइतवार भएको छलफलमा सहमति जुटेको हो ।
सहमति अनुसार, सोमवार बिहान ११ बजेसम्म पहिलो चरणमा १५ लाख रुपैयाँ संकलन गरिनेछ भने फागुन १८ गतेसम्म थप १५ लाख रुपैयाँ संकलन गरी ३० लाखको कोष खडा गरिने र सो रकमले गाई फार्म पुनः सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।गाई फार्म अलपत्र परेको अवस्थामा वीरगञ्जका समाजसेवी सुनिल खेतानले आहारको व्यवस्था गर्नुभएको थियो । अब सञ्चालकहरूकै पहलमा फार्मलाई व्यवस्थित रूपमा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


















