निजगढ,मातातीर्थ औँसी तथा आमाको मुखहेर्ने दिनको अवसरमा देशभर विभिन्न कार्यक्रम भईरहँदा सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय निजगढ ७ मा गुरुमालाई सम्मान गरिएको छ ।विद्यालयमा अध्ययनरत छात्रा विद्यार्थीको अगुवाईमा विद्यालयमा कार्यरत शिक्षिकाहरुलाई मिठाइ लगायतका खानेकुरा प्रदान गर्दै आमाको मुख हेर्ने दिन मनाइएको हो ।
विद्यालयमा अध्ययनरत छात्रा संगीता साह लगायतका विद्यार्थीहरुले मिठाइ लगायतका खानेकुरा विद्यालयका शिक्षिका गुरुआमाहरुलाई खुवाएका थिए ।

सो अवसरमा आफ्नो कुरा राख्दै विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले नारीका विभिन्न स्वरुप मध्ये आमा एउटा रुप भएको र गुरुआमा शिक्षिका पनि शिक्षा दिने आमा भएकाले विद्यार्थीले सम्मान गर्नु ज्यादै सहनीय कार्य भएको बताउनुभयो । विद्यालय शिक्षा दिने वा पढाउने ठाउँ मात्रै नभई संस्कार प्रदान गर्ने थलो समेत भएको भन्दै आमा, गुरुआमालाई सधैँ सम्मान गर्नुपर्ने प्रअ स्वर्णकारले बताउनुभयो ।
यस कार्यक्रमबाट एउटा राम्रो संस्कारको समेत सुरुवात भएको प्रधानाध्यापक स्वर्णकारको भनाई छ । यस्ता कार्यक्रमबाट संस्कारको पुस्तान्तरण हुने समेत उहाँको विश्वास छ । आफ्नो विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापबाट पनि विद्यार्थीको प्रतिभा प्रस्फुटनका साथै संस्कार र संस्कृतिको जर्गेना गर्ने कार्य गरिरहेको उहाँले बताउनुभएको छ ।मातातीर्थ औँसीको अवसरमा विद्यार्थीबाट सम्मान तथा खानेकुरा पाउँदा आफुलाई निकै खुसी लागेको विद्यालयका शिक्षिका किरण श्रेष्ठको भनाई छ । आफुले आफ्नो छोराछोरी झैँ ठानेर सिकाउने गरेका र विद्यार्थीले पनि माताजस्तै ठानेर सम्मान गरेकोमा गौरव लागेको शिक्षिका श्रेष्ठले बताउनुभयो ।विद्यालयका शिक्षिका अम्बिका घिमिरे, कल्पना आचार्य, सविता पाण्डे, निशा लामा, सरु थापा, पञ्चमाया तामाङ लगायतलाई खानेकुरा प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिकाको सहभागिता रहेको थियो ।


















