काठमाडौँ,काठमाडौँ– तराई मधेस द्रुत मार्गको भौतिक प्रगति हालसम्म ३८ दशमलव २६ प्रतिशत पुरा भएको सेनाले जनाएको छ । आइतवार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख (उपरथी) कमलविक्रम शाहले २०८३ चैतभित्रै आयोजना पुरा गर्ने गरी काम भइरहेको बताउनुभयो ।सडक निर्माणमा आवश्यक रुख कटान प्रक्रिया झन्झटपूर्ण रहेको सेनाको भनाई छ । रुख कटान प्रक्रिया भइरहेको उल्लेख गर्दै आयोजना प्रमुख शाहले भन्नुभयो– ‘रुख कटान प्रक्रियामा जाँदा ११ महिना लाग्छ ।’

२०७८ वैशाखबाट द्रुतमार्ग निर्माणको काम थालेको नेपाली सेनाले भौतिक प्रगति अहिले थोरै देखिए पनि पछि ह्वात्तै बढ्ने दाबी गरेको छ । ‘गाह्रो काम अहिले गरिरहेका छौँ, दिनरात लागेर उपलब्धि हासिल गर्ने प्रयासमा छौँ ।’ उपरथी शाहले भन्नुभयो ।रुख कटानले गाह्रो बनाएको सेनाको भनाई छ । ललितपुरको खोकनामा द्रुतमार्ग निर्माण गर्नेबारे स्थानीयले गरेको विरोधका कारण आयोजनाको समय लम्बिनेतर्फ सेनाले सङ्केत गरेको छ । उपरथी शाह भन्नुहुन्छ– ‘खोकनाको विवादका कारण समय बढ्न सक्छ ।’

गत असोजमा परेको अविरल वर्षाको कारण मख्खुबेसीदेखि सिस्नेरीसम्मको भौगोलिक अवस्थामा परिवर्तन आएको सेनाले जनाएको छ । उपरथी शाहले असोजको वर्षाको कारण पुलको उचाइ बढाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
७ वटा सुरुङमध्ये २ वटा सुरुङ ब्रेक थ्रु भएको र लक्ष्य अनुसार काम सम्पन्न गर्ने कोसिस भइरहेको सेनाको भनाई छ ।

Leave a Reply