कृष्ण मोहन साह
सेढवा,कुनै समय देशभर नै चर्चामा रहेको पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा १३ बिघा जमिनमा १५ सय गाई अट्ने स्वचालित गाई फार्म दयनीय अवस्थामा पुगेको छ ।स्याहारसुसार र पर्याप्त आहारा नहुँदा दिनप्रतिदिन गाईहरु मर्दै गएका छन भने फार्ममा गाईलाई पिउने पानीको समेत अभाव छ । पानी र घाँस पराल नपाएर गाई दिनप्रतिदिन मर्दै गएको स्थानीयबासी बताउँछन् । हाल सो फार्ममा हाड र छालामात्र बाँकी रहेको २ सय ओटा गाई छन्।

गाई फार्मका सन्चालक श्यामवदन यादव हुनुहुन्छ । उहाँले पछिल्लो समय फार्मको रेखदेख र वास्ता नै नगर्दा ठुलो चर्चा कमाएको गाई फार्म हेर्न पुग्ने जोकोहीको मन नै रुन्छ । खाना नपाएर गाई भोकै मर्न थालेको गुनासो आएपछि सोमवार ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ सहितको जनप्रतिनिधि र प्रहरीको टोलीले फार्मको निरीक्षण गरेको छ । अझै एक साता यस्तै अवस्था रहे फार्ममा कुनै पनि गाई नबाँच्ने अवस्था रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।अध्यक्ष श्रेष्ठले फार्मको अवस्था बारे संचालकलाई जानकारी गराउँदा गैरजिम्मेवार जवाफ आएको बताउँदै अब आफुले टुलुटुलु हेरेर बस्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

‘यस्तो विजोग हेरेर बस्न सकिदैंन, पराल छैन, दाना छैन, पानी समेत छैन, तोरीको कुसौरा छरेर राखेको छ ।’ अध्यक्ष श्रेष्ठले बताउनुभयो ।अब तत्काल फार्मको गाई किसानलाई पाल्न दिने र पछि सन्चालक खोज्न आएमा पालेको पैसा लिएर फिर्ता गर्ने शर्तमा गाई बचाउने सोचमा पुगेको उहाँको भनाई छ ।अध्यक्ष श्रेष्ठ उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक रन्जित तामाङ, ठोरी –५ का वडा अध्यक्ष अष्टबहादुर लोप्चन लगायतलाई लिएर फार्मको निरीक्षण गर्नुभएको थियो ।

प्रतिदिन ३० हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेर सन्चालन भएको सो गाई फार्मले १२ लाखभन्दा धेरै विद्युत वक्यौता तिर्न बाँकी भएपछि लाइन काटिएको छ । विद्युत नहुदा पानी समेत छैन । ठूलो योजना र मेसिनबाट सन्चालित प्रणालीमा लाईन नभएपछि फार्म डुङ्डुङ्ती गनाउने अवस्थामा पुगेको छ भने काम गर्ने कामदारले पैसा नै पाएका छैनन् । गोबरग्यासबाट बिजुली समेत उत्पादन गर्ने लक्ष्य राखेको फार्म आफैं विजुली नभएर दयनीय अवस्थामा पुगेको छ ।

Leave a Reply