निजगढ,निजगढ नगरपालिका–१३ मा रहेको शक्तिश्वर महादेव मन्दिर क्षेत्रमा लागेको हरिबोधिनी एकादशी मेलाको शुक्रवार समापन भएको छ ।मेलामा विभिन्न संस्कृतिक नृत्य, खेल र मनोरञ्जनात्मक स्टलहरु राखिएका थिए । विहिबार बिहानैदेखि नदी किनारमा फूल तार्ने र पूजा गर्ने भक्तजनको भिड लागेको मेला हिजो बिहानबाट समापन भएको आयोजक समितिका अध्यक्ष दिपक न्यौपाने बताउनुभयो ।मधेस प्रदेशको पर्यटकीय गन्तव्यको रुपमा लोकप्रिय हुँदै गएको यो क्षेत्रमा परापूर्वकालदेखि हरिबोधिनी एकादशी मेला लाग्दै आएको छ । मेलामा बारा, मकवानपुर, पर्सा जिल्लाका विभिन्न गाउँबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु मेल भर्न आएको वडा अध्यक्ष सुर्य घलानले बताउनुभयो । उहाँले शक्ति क्षेत्र प्रदेशकै पर्यटकीय क्षेत्रका रुपमा परिचित भएपनि भौतिक संरचना लगायतका क्षेत्रमा काम हुन नसक्दा अझैं ओझेलमा परेको बताउनुभयो । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ । भगवान विष्णुको प्रतीकको रुपमा घरघरमा तुलसीको पूजा पनि गरीन्छ । यसै दिन भगवान विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन छ ।

Leave a Reply