कलैया,बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ की १६ वर्षीया गुञ्जा चौरसियाको आत्महत्याको घटनाको सत्य तथ्य छानवीन गर्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, बाराले माग गरेको छ।अभियानकी बारा जिल्ला उपाध्यक्ष मिना सिंहले प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गर्नुभएको हो । विज्ञप्तिमा नेपाल राष्ट्रिय माध्यमिक विधालयको कक्षा १० मा अध्ययनरत र हाल एसईई दिई रहेकी वर्ष १६ का गुन्जाकुमारी चौरसियाकी वडा अध्यक्ष तथा प्रहरीको यातनाबाट चैत १२ गतेको दिन मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईन गाउँमा दाउरा लिने दिने विषयमा सामान्य झगडा हुँदा सोही गाउँका रामानन्द यादवको श्रीमती चन्दा देवी, ललसा देवी लगायतकाले महिला तथा बालबालिका सेवा केन्द्र कलैया उजूरी दिएको विज्ञप्तिमा लेखिएको छ। सोही मुद्दामा गुञ्जाको बुवा रामाधिन चौरसिया घरबाट फरार रहेको हुँदा निज चौरसियालाई पक्राउ गर्नको लागि वडा अध्यक्ष तथा प्रहरीले पटक पटक घरमा गएर बालबालिकाहरुलाई यातना तथा मानसिक तनाव दिएकोले निज बालिका घरमा झुण्डिएर आत्महत्या गर्न बाध्य भएको मृतकको परिवारले आरोप लगाएको विज्ञप्तिमा लेखिएको छ।
नेपालको प्रचलित कानुनले बालबालिकाहरुको शिक्षा, सुरक्षा जस्ता अधिकारका न्यूनतम विषयलाई उच्च प्राथमिकतामा राखेको छ। बालबालिका सम्बन्धि ऐन,२०४८ र बालअधिकार सम्बन्धि महासन्धी सन् १९८९ अनुसार कुनै पनि समयमा कुनै पनि किसिमको कुनै पनि बहानामा बालबालिकालाई शारीरिक, मानसिक यातना दिनु वा दुव्र्यवहार गर्नु कानुनी अपराधको रुपमा व्याख्या गरेको छ। बालवालिकाहरुलाई यातना दिने कार्य निन्दनीय तथा बालअधिकार विरुद्धको कार्य भएको विज्ञप्तिमा भनिएको छ।

Leave a Reply