कलैया, बाराको कलैया उपमहानगरपालिका ( १ बैंकरोडस्थित नवजन्म पुनः स्थापना केन्द्रमा एक जना पुरुषको कुटपिटबाट मृत्यु भएको छ । सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिका – ९ राम टोलका ३७ वर्षीय प्रदीप मण्डलको मृत्यु भएको हो ।मृतकका आफन्तले उनलाई कुटपिट गरेर मारिएको आरोप लगाउँदै सुधार केन्द्रको परिसरमा प्रदर्शन गरेका छन् । मृतकका बुबा र दाजुले पनि प्रदीपको मृत्यु कुटपिटकै कारण भएको बताएका छन् ।

बाराका प्रहरी नायब उपरीक्षक डिएसपी प्रकाश सापकोटाका अनुसार घटनामा संलग्न नवजन्म पुनस्स्थापना केन्द्रका सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिइएको छ ।पक्राउ पर्नेमा सुधार केन्द्रका सञ्चालक बाराका कलैया – ३ का सर्फराज मन्सुरी, नीरज सर्राफ, तमन्ना अली, सागर गुप्ता, मोहम्मद आसुमिया शेख, अरुण सर्राफ र परमेश्वर साह रहेका छन् । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केन्द्रभित्र राखिएको सिसिटिभी फुटेजमा पनि मण्डलमाथि कुटपिट भएको स्पष्ट देखिन सकिन्छ । मृतकको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।मृतकका बुबा हिरालाल प्रसाद धानुकका अनुसार, एक हप्ता अघि मात्रै उनले छोरालाई सुधार केन्द्रमै भेटेका थिए । भेटघाटका क्रममा प्रदीपले आफूलाई छिटो घर लैजान अनुरोध गरेको बुवा स्मरण गरे । परिवारले उनलाई यसै महिनामा घर लैजाने योजना समेत बनाइरहेको थियो ।

यद्यपि, केही दिनपछि पुनः स्थापना केन्द्रका व्यक्तिहरू राति उनलाई अस्पताल लागिएको खबर गरे । खबर पाउनसाथ अस्पताल पुगेपछि छोराको मृत्यु भइसकेको जानकारी दिइएको मृतकका बुबाले बताएका छन् ।मृतकका दाजुले प्रदीपको गालामा रातो डाम परेको, खुट्टाका औँलाहरूमा रगत जमेको चोट देखिएको हुँदा सुधार केन्द्रमै कुटपिट गरेर हत्या गरिएको दाबी गरेका छन् ।डिएसपी सापकोटाले सुधार केन्द्रको आन्तरिक नियमअनुसार कुटपिट गरिएको देखिएको बताए । “सुधार केन्द्रहरूमा अनुगमन गर्न आवश्यक छ । सुधारका नाममा कुटपिट गरिनु आपत्तिजनक हो”, उनले भने । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply