पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकाले पालिकाभरिका सहकारी संस्थाहरुको क्षमता अभिवृद्धिका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम संचालन गरेको छ ।शुक्रवार सिमरास्थित होटल क्लासिक प्लाजामा आयोजित दुईदिने तालिमको नगरप्रमुख राजन पौडेलले उद्धाटन गर्नुभएको हो । प्रमुख अतिथि नगरप्रमुख पौडेलले संख्यात्मक रुपममा नभै सहकारीको गुणत्मक वृद्धि हुनुपर्नेमा नगरपालिकाको ध्यान रहेको बताउनुभयो । अन्यत्रका सहकारीहरुमा देखिएका समस्या जीतपुरसिमराका जनताले भोग्न नपर्ने गरी कानुनी रुपमा सबल बन्न तालिममा सहभागीहरुलाई उहाँले आग्रह गर्नुभयो ।
कानुन परिपालनमा सहकारी संचालक र सदस्य चुक्दा समस्या भइरहेको भन्दै सहकारीहरुले निर्देशित कानुनलाई बेवास्ता गर्ननहुने उहाँको भनाई थियो । जीतपुरसिमरा उपमहानगरपालिकामा १०३ वटा सहकारी रहेकोमा करिब ७५ वटा संस्था मात्र सक्रिय रहेका छन् । तीमध्ये ६५ वटा सहकारी कर्मचारी र संचालक गरी एकसय ५० जना प्रतिनिधीहरुको तालिममा सहभागिता रहेको पालिकाका सहकारी शाखा प्रमुख सुधन चौधरीले जानकारी दिनुभयो ।

तालिमका सहभागीहरुलाई साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी प्रमुख झलेन्द्र भट्टराईले सहजीकरण गर्नुभएको थियो । सहकारी संस्थाले समाज रुपान्तरणमा खेल्नुपर्ने भुमिका, कर्जा लगानी र असुलीमा विचार गर्नुपर्ने पक्ष र वर्तमान अवस्थामा सहकारीकर्मीले ध्यान पुर्याउनु पर्ने विषयमा भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
तालिमको शनिवारको कक्षामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका सदस्य हरिप्रसाद पौडेलले पनि सहजीकरण गर्नुभएको सहकारी शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।तालिम जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षता, नगरस्तरीय सहकारी समन्य समितिका सदस्य मुकुन्दबहादुर क्षेत्रीको स्वागत एवंम सहकारी शाखा प्रमुख चौधरीको संचालनमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here