वीरगन्ज,हुलाकी सडकअन्तर्गत तिलाबे खोलामा निर्मित पुलको काम नसकिँदै उद्घाटनको तयारी थालिएको छ । पुल निर्माण भए पनि दुवैतर्फको करिब १ सय मिटर एप्रोच सडक र नदी नियन्त्रणको काम नसक्दै हतारमा पुलको उद्घाट्न गर्न लागिएको हो ।
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री मोहम्मद इस्तियाक राईले बुधबार पुल उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ । हुलाकी सडकको वीरगन्ज–चमरी खण्डअन्तर्गत तिलाबे खोलाको १ सय मिटर लामो पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो ।
पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय युवाले गतवर्ष समूह गठन गरेर दबाब दिएका थिए । समूहका एक अगुवा राकेश यादवले एप्रोच सडक निर्माण र खोला नियन्त्रणको काम पूरा नभएको बताउनुभयो । समूहका अर्का अगुवा दिनेश मिश्रले ठेक्का सम्झौतामा उल्लेख भएका सबै भौतिक पूर्वाधार ठेकेदार कम्पनीले निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले एप्रोच सडक बिनापुलबाट आवागमन गर्न गाह्रो हुने पनि बताउनुभयो । ७ करोड७१ लाख रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो ।
२०७२ जेठ २५ मा सम्झौता हुँदा २०७५ जेठ २४ मा काम सक्ने जनाइएको थियो । तर, ठेकेदार कम्पनीले पटकपटक म्याद थप गराउँदै आएको थियो । पर्सा जिल्लाको लाइफलाइन मानिने पदम रोड÷हुलाकी सडकमा रहेको यो पुलको निर्माणमा ढिलाइ भएपछि जिल्लाका ग्रामीण भेगका बासिन्दालाई सास्ती व्यहोर्दै आएका छन् ।
खोलामा हाल रहेको पुल साँघुरो हुँदै दैनिक घण्टौं जाम हुने गरेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर दुर्गा मण्डलले बुधबार पुलको उद्घाटन गर्न लागिएको सुनेको बताउनुभयो ।
ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारले पुल पूर्णरुपले तयार भइसकेको दाबी गर्नुभयो । ठेक्काअन्तर्गत बाँकी नदी नियन्त्रणको काम पनि त्यसै अवधिमा गर्ने उहाँले बताउनुभयो ।


















