सिमरा,दुर्लभ पाटे बाघको मुख्य बासस्थानको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने हलखोरिया दह सरसफाइ नहुँदा घाँसेमैदानमा परिणत हुनथालेको छ ।निजगढ नगरपालिकामा पर्ने हलखोरिया दहको लामो समयदेखि सरसफाइ नगर्दा पानी सुक्दै गएर घाँसेमैदानमा परिणत हुन थालेको हो ।निकुञ्जको जंगलभित्र प्राकृतिक पानीको एक मात्रै ठुलो स्रोत हलखोरिया दह सुक्न थालेपछि वन्यजन्तुहरूलाई पिउने पानीको अभाव हुन थालेको छ ।पर्सा मधेस प्रदेशको एक मात्रै राष्ट्रिय निकुञ्ज हो । निकुञ्जभित्र वन्यजन्तुहरूका लागि पिउने पानीको ठुलो समस्या छ ।पसाहा नदीको किनारामा पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ घना जंगलभित्र २० हेक्टरभन्दा धेरै भूभागमा फैलिएको यो दह पर्यापर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । पछिल्लो समय मिचारा प्रजातिका झारहरू फैलिएर सो दह घाँसेमैदान जस्तो देखिन थालेको छ । बाह्रै महिना पानीसहितको दलदले जमिन भएको उक्त क्षेत्रमा मुख्य गरी चराचुरुङ्गी, गौरीगाई, पाटेबाघ र बाघको आहारा प्रजातिका वन्यजन्तुहरूको मुख्य बासस्थान तथा क्रीडास्थलको भएको निकुञ्जले जनाएको छ ।पर्सा निकुञ्ज दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाई जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको वासस्थान हो ।पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले हलखोरिया दहको सरसफाइ गर्न कम्तीमा एक करोड बजेट आवश्यक पर्ने बताउँनुहुन्छ । उहाँले बजेट अभावका कारण दह सरसफाइ गर्न नसकिएको गुनासो गर्नुभभयो ।

Leave a Reply