जनकपुरधाम,धनुषामा सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ । मिथिला नगरपालिका–४, पुष्पवलपुरका पूर्णबहादुर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।विश्वकर्मास्थानीय राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक हुनुहुन्थ्यो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार सोमवार राति करिब ९ बजे जनकपुरबाट ढल्केबरतर्फ आउँदा उहाँले चलाएको मधेस प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटी मिथिला नगरपालिका–२ नक्टाझिजमा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा निधन भएको हो ।
विश्वकर्मा सवार स्कुटीलाई ठक्कर दिएको आशङ्कामा बा. १८ च. ८७६८ नम्बरको स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शिक्षक विश्वकर्माको निधनप्रति शोक व्यक्त गर्दै मिथिला नगरपालिकाका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा मङ्गलवार एक दिन शोक बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा दिवङ्गत शिक्षकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विद्यालय बन्द रहने जानकारी दिएको छ ।