वीरगञ्ज,पर्साको ठोरीमा मंगलवार बिहान एक जना भारतीय नागरिकको शव फेला परेको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतीय सीमा नजिकको झाँडीमा एकजना भारतीय पुरुषको शव फेला परेको हो ।
मृतक पश्चिमी चम्पारण, मानपुर थाना अन्तर्गत चौहाटाका ४५ वर्षीय राजदेव माझी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक रन्जित लामाका अनुसार मृतकको साथबाट मोबाइल र डायरी फेला परेको छ । शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।शव शल्यपरिक्षणको लागि वीरगञ्जको नारायणी अस्पताल पठाइएको छ । शल्यपरीक्षणको रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

















