निजगढ,निजगढ तिलगंगा आँखा अस्पतालले निजगढमा ३ दिनमा ३४४ जना मोतियाबिन्दुका बिरामीहरुको आँखाको शल्यक्रिया गरेको छ ।अस्पतालले निजगढ लगायत विभिन्न स्थानमा संचालन गरेको आँखा परीक्षण शिवीरमा फेला परेका मोतियाबिन्दुका बिरामीहरुलाई निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर ३ दिनसम्म शल्यक्रिया गरेको हो । तिलगंगा आँखा अस्पतालका व्यवस्थापक सुनिल सुबेदीले दिएको जानकारी अनुसार मंगलवार १२२ बुधवार ११७ र बिहीवार १०५ जना बिरामीहरुको मोतियाबिन्दुको शल्यक्रिया गरेको हो ।आँखा अस्पतालका चिकित्सक इलिना गुरुङ्गको टोलीले बिरामीहरुको आँखाको शल्यक्रिया गरेको थियो । शल्यक्रिया भएकाहरुलाई निजगढ ९ स्थित गौरीशंकर कलेजमा राखेर हेरचाह गर्दै आएको छ ।यसैबीच बुधवार निजगढ नगरपािलकाका नगर प्रमुख सरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले शल्यक्रिया गरिएकाहरुको आँखाको पट्टी खोल्नुभएको छ । नगर प्रमुख पुरी र उपप्रमुख थिङ्गले शल्यक्रियापछि बिश्रामस्थलमा राखिएकाहरुको आँखाको पट्टी खोल्नुभएको हो ।निजगढ तिलगंगा आँखा अस्पतालले बारासहित छिमेकी रौतहट, सर्लाही, पर्सा र मकवानपुरमा शिवीर संचालन गरेर आँखाको परीक्षण गर्ने र मोतियाबिन्दु फेला परेकाहरुलाई निजगढमा ल्याएर निशुल्क शल्यक्रिया गर्दै आएको छ । शिवीरमा नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाका स्वंम सेवकको टोलीले सहयोग गरेको थियो ।




















