निजगढ, साउन– १७ निजगढ नगरस्तरीय कोरोना भाइरस विपत न्युनीकरण समन्वय तथा अनुगमन समितिको शुक्रबार बसेको बैठकले निजगढमा कोरोनाको जोखिम बढेको ठहर गर्दै न्युनीकरणको लागि थप सर्तकता अपनाउने निर्णय गरेको छ ।

नगर प्रमुुख सुरेश खनालको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक स्थलमा आवतजावत गर्ने सर्वसाधारणले शनिबारबाट मास्कको प्रयोग अनिवार्यरुपमा गर्नुपर्ने अन्यथा जिल्ला प्रशासन कार्यालयले तोकेबमोजिम १ सय रुपैया जरिवान तिर्न लगाउने निर्णय गरेको छ । यसकोलागि निजगढस्थित पुर्वपश्चिम राजमार्गको भमरा, बुद्ध चोक र बकैया क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी नियमित रुपमा चेकजाँच गर्ने व्यवस्था मिलाएको छ ।

त्यसैगरी पूजाको लागि धार्मिक स्थल र मठमन्दिरमा हुने भिड नियन्त्रण गर्न पूजारीबाट नियमित हुदै आएको पूजाआरति बाहेकका अन्य गतिविधिमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।

भारतबाट आएका कामदारहरुको लगत तयार पारी कोरोना परीक्षण गर्ने पनि बैठकले गरेको छ । त्यसैगरी कोरोना भाइरस महामारी न्युनीकरणकोलागि आवश्यक मापदण्ड अपनाएरमात्र व्यवसाय संचालन गर्नुपर्ने र सोको लागि नगर उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीय व्यवसायीहरुमा सचेतता कार्यक्रम संचालन गर्ने निर्णय भएको छ ।

त्यसैगरी कोरोना पोजेटिभ बिरामीहरुकोलागि निजगढ नगरपालिका वडा नम्बर ९ स्थित जनज्योति आधारभुत विद्यालयमा १० बेडको आइसोलेशन कक्ष स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको निजगगढ नगरपालिकाका उपप्रमुख लिलादेवी लामिछानेले जानकारी दिनुभयो ।

यसैबीच निजगढमा शुक्रबार थप एक जनामा कोरोना पुष्टि भएको छ । निजगढ नगरपालिका वडा नम्बर– २ सिंगौलका ७५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मृगौला डायलासिस गर्ने क्रममा परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव ढोडारीले जानकारी दिनुभयो ।

उनको केही दिनअघि नारायणी अस्पतालमा पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको र शुक्रबार रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष ढोडारीले बताउनुभयो । उनलाई शुक्रबार साँझ नै थप उपचारको लागि जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा नारायणी अस्पताल पठाइएको छ ।

Leave a Reply