आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाबाट खोटा मुद्रासहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
सिम्रौनगढ वडा नम्बर ४ गंगानगरस्थित गण्डक नहर सडक खण्डबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको मोतिहारी जिल्ला ग्राम हरनारायणा– १० बस्ने वर्ष ३९ को राजेश दास र मोतिहारीकै ग्राम बिजबनी अगरवा ४ बस्ने वर्ष ४३ वर्षका रामप्रवेश दास रहेका प्रहरीले जनाएको छ ।
प्रहरी चौकी अमृतगञ्जबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा बसमा सवार उनीहरुको साथबाट एक हजार दरको ४ थान गरी चार हजार बरामद भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नविन राईले जानकारी दिनुभयो ।
उनीहरुले झोलाभित्र प्लाष्टिकको टेपले बेरेर राखेको अवस्थामा २ वटा पोकाको सुरु र अन्त्यमा एक हजार दरका नेपाली नोट राखेर बीचमा भने सोही साईजको भारतीय पत्रिकालाई काटेर बनाइएको १६ वटा गड्डी फेला पारेको हो ।
त्यसैगरी भारतबाट नेपाल ल्याउने क्रममा बाराको पचरौता नगरपालिकाको बेलदारीमा प्रहरीले ७० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ ।
पचरौता नगरपालिका २ पिपरपातीबाट ललचनहा जाने सडकको बाटो हुदै अवैधरुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले सर्टिङ्ग सुटिङ्गको ६ थान कपडा बरामद गरेको हो । गस्तीमा रहेको प्रहरीलाई देखेपछि तस्करहरु कपडा छाडेर भागेका थिए । बरामद कपडा नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा कलैयामा पठाइएको प्रहरीले जनाएको छ ।



















