वीरगञ्ज,पाँच वर्षदेखि अन्यौलमा रहेको नारायणी अस्पताल वीरगञ्जमा ५०० शैयाको भवन निर्माण सम्बन्धि मुद्दाको पक्षमा सर्वोच्च अदालतले फैसला सुनाएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र सुनिल पोख्रेलको संयुक्त इजलाशले उच्च अदालतले यसअघि निर्माण कम्पनीको पक्षमा गरेको फैसला उल्ट्याउँदै शहरी विकास तथा भवन निर्माण विभागको पक्षमा फैसला गरेको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिनुभयो ।
सर्वोच्चको फैसलापछि पाँच वर्षदेखि अन्यौलमा रहेको ५०० शैयाको भवन निर्माण प्रक्रियाले निकास पाउँदा वीरगञ्जवासी हर्षित भएको अस्पतालका सूचना अधिकारी वरिष्ठ चिकित्सक डा. उदयनाराण सिंहले बताउनुभयो ।
अस्पतालका वरिष्ठ चिकित्सकसमेत रहेका भवन निर्माण संघर्ष समितिका संयोजक डा. नीरज सिंहका अनुसार फैसलाले अब भवन निर्माणका लागि नयाँ प्रक्रिया सुरु गर्न सरकारको बाटो खुलेको बताउनुभयो ।सर्वोच्च अदालतमा अड्किएको भवन निर्माण सम्बन्धि मुद्दाको विषयमा दबाब दिन माघ १८ गतेदेखि अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र नागरिक समाजका अगुवाहरुले अस्पताल परिसरमा धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराएका थिए ।भवन अभावले उपचारमा समस्या भएको भन्दै त्रिभुवन राजपथ अन्तर्गत पर्ने अस्पताल अगाडिको सडकमा स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका थिए ।

















