अहिले माघको दोश्रो हप्ता चल्दैछ । शीतलहरको हिसावले यो उत्तराद्र्धको समय हो भन्दा पनि फरक पर्देन । माघको अन्तिम सातापछि तराई मधेशमा शीतलहरको प्रकोप घट्दै जानेछ । करिब एक हप्ता जति अब यस क्षेत्रमा शीतलहर हुने नै हो । यसपाली पुसमा तराई मधेश क्षेत्रा खासै शीतलहर भएन तर चिसोले भने सताएकै हो । माघ लागेपछि तराई मधेशमा खासै घाम लागेको छैन । पुस, माघमा मधेशमा शीतलहर हुनु स्वभाविक पनि हो तर यो नौलो र ताजा कुरा पनि होइन । हरेक वर्ष आउने गरेको छ ।
हालै नेपालको मौसम पूर्वानुमान महाखाले भने तराई मधेशमा शीतलहर चलेको घोषणा पनि गरेको छ । पुस, माघमा कहिले शीतलहर चल्छ यसै भन्न सकिन्न यद्यपि सामान्यतया यी महिनाहरुमा चिसो हुन्छ नै । चिसोबाट बढीजसो बालबालिका, ज्येष्ठ नागरिक सहित दीर्घरोगीहरु प्रभावित हुने नै भए तर सरकारले शीतलहरबाट जोगाउनका लागि भने कहिल्यै ठोस नीति लिएको पाइदैन ।
देशमा अहिले तीन तहका सरकार सक्रिय छन् । संघीय सरकार त मधेशप्रति खासै उदार भएको पाइदैन तर घर आँगनका सरकार भनेको मधेश प्रदेश र स्थानीय तहको सरकारले पनि सामान्य कर्मकाण्डी बाहेकको नागरिकलाई चिसोबाट जोगाउनका लागि कुनै खास काम गरेको देखिदैन । यसको लागि कुनै नीति बनाएको पनि पाइदैन ।
हुन त सरकारहरुलाई पनि कसलाई कसरी सहयोग गर्ने भन्ने त होला नै तर प्रदेशको समन्वयमा स्थानीय सरकारले भने चिसोबाट जोगाउनका लागि नीति बनाउन सक्छन् र बनाउनु पनि पर्दछ । तर स्थानीय सरकारले पनि दाउरा वितरण गरेर आगो ताप्नेसम्मको व्यवस्था गरेपनि अरु खासै केही देखिएको चैं छैन ।
















