नेपालमा कतिबेलाको प्रतिपक्ष र को सरकार पक्ष बन्छ भनेर यसै भन्न सकिन्न । ६ महिनाअगाडि सरकारमा रहेको दल प्रतिपक्ष बन्छ भने ६ महिना अगाडि प्रतिपक्ष बनेको दल केही समयपछि सरकार पक्ष बन्छ ।नेपाली राजनीतिको यो सबैभन्दा विकृत पक्ष हो । यही विकृत पक्षमा टेकेर नेपालका दलहरु सरकारमा गइरहेका छन् । ६ महिनाअगाडि प्रतिपक्षमा रहेको एमाले अहिले सरकारको नेतृत्वमा छ भने त्यो बेला सरकारको नेतृत्व गरेको माओवादी केन्द्र अहिले प्रमुख प्रतिपक्ष बन्न बाध्य भएको छ । नेपालका दुई ठूला पार्टी एक ठाउँमा आएपछि माओवादी प्रतिपक्षको कित्तामा धकेलिएको हो ।
प्रमुख प्रतिपक्षको नेताको हैसियतले गत हप्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सदनमा लामो भाषण गर्नुभएको थियो । भाषणको सार भने सरकारलाई गाली गर्नु नै हो । वर्तमान सरकार सबै हिसावले ठीकठाक छ पनि भन्न खोजिएको होइन तर प्रतिपक्षको बेञ्चमा बस्ने बित्तिकै नेपालका नेताहरुले आफू सरकारमा पनि गएको कुरा बिर्सन्छन् । ६ महिना अगाडिसम्म सरकारको नेतृत्व गरेका प्रचण्डले कयौं कुरा केपी ओलीलाई प्रश्न गर्दा केही प्रश्न आफैतिर पनि तेर्सिएका छन् ।
यो समस्या केवल प्रचण्डको मात्र होइन, नेपालमा रहेका सबै राजनीतिक दलको हो । एकाध बाहेक नेपालको सत्तामा नपुगेका दल अब छैनन् । जो सरकारमा अहिलेसम्म सहभागी छैनन् । उनीहरुभन्दा बाहेक सरकारमा पटक पटक गएका दलले प्रतिपक्षमा पुग्दैमा सरकारलाई धारे हात लगाउने कुरा जायन होइन । तर यो समस्या नेपालका हरेक दलमा छ जुन राम्रो हुदै होइन । यो प्रतिपक्षमा पुग्ने दलहरुको अचम्मकै रबैया हो ।

Leave a Reply