जनकपुरधाम,मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि अवैधानिक रूपमा सञ्चालित अस्पतालहरूले ताल्चा लगाएर मुख्यमन्त्री कार्यालयमा आइतवार चाबी बुझाएका छन ।मुख्यमन्त्री कार्यालयमा चाबी बुझाउने अस्पतालमा जनकपुरको सिता हस्पिटल, मुस्कान अस्पताल, अरमान हस्पिटल र बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर रहेका छन । बिरामीहरुको उपचारमा लापरबाही गरेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले शनिवार जनकपुरका निजी अस्पतालहरुको अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा अबैध रुपमा संचालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिंहले त्यस्ता अस्पताल बन्द गर्न निर्देशन दिनुभएको थियो ।
मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले जनकपुरको जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर, बीएन हस्पिटल एन्ड रिसर्च सेन्टर, जनकपुर सीता हस्पिटल, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, साइन मल्टिस्पेसियालिटी हस्पिटल एन्ड ट्रमा सेन्टर, राम मेमोरियल हस्पिटल प्रालि, समर हस्पिटल, केयर मेडिकल सेन्टर, नेपाल अपोलो हस्पिटल, मिथिला केयर क्लिनिक, जनकपुर मोर्डन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र माँ गायत्री मेमोरियल हस्पिटल प्रालि लगायत २० वटा अस्पतालको अनुगमन गरेको र तीमध्ये १९ वटा अस्पताल अबैध पाइएको बताइएको छ । केही अस्पतालहरु कतै पनि दर्ता नै नगरी सञ्चालन गरिएका र अधिकांशले २ देखि ४ वर्षसम्म नवीकरण नगरेको भेटिएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।
कानुनी मापदण्ड पूरा नगरेको र जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको भन्दै मुख्यमन्त्री सिंहले आइतवार बिहान ११ बजेसम्म त्यहाँ रहेका बिरामीहरूलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गरी बन्द गर्न निर्देशन दिनुभएको थियो ।



















