स्वास्थ्य र शिक्षा लगायतका केही बिषयहरु नागरिकहरुको जीवनसंग जोडिएको बिषय हो र यो आम नागरिकहरुको नैसर्गिक अधिकार पनि हो । स्वास्थ्य आम नागरिकहरुका लागि सर्वसुलभ बनाउने सरकारको प्रयास कतिपय कारणले अझै सफल भएका छैनन् यो सत्य कुरा हो । अझै स्थानीय सरकार गठन भएपछि त स्थानीय सरकारहरुले स्वास्थ्यलाई सुलभ बनाउलान् भन्दा पनि उनीहरुको स्वार्थका कारण नागरिकहरुका लागि स्वास्थ्य सुलभ हुन सकेको छैन ।

बाराको पचरौता नगरपालिकाका नागरिकहरुमाथि सोही किसिमको खेलवाड गरिदैछ । नगरमा रहेको एउटामात्रै अस्पताल करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीको म्याद थप नभएपछि हाल अस्पताल बन्द गरिएको छ । नगरपालिकाले नै सूचना प्रकाशित गरेर नगरवासीहरुको स्वास्थ्य सेवा बन्द गरिएको जनाएको छ । हुन त अस्पताल जस्तो शंवेदनशील सेवा बन्द गर्नुपर्ने अवस्था आउनुमा हालका जनप्रतिनिधिहरुमात्रै जिम्म्मेवार छैनन । नगर प्रमुख जालन्धर सिंहलाई असजिलोमा पार्ने विपक्ष जसपाका स्थानीय नेता कार्यकर्ताहरुको रणनीतिअनुसार नगरसभा गर्न असहयोग गरेपछि स्वास्थ्यकर्मीहरुको म्याद थप गर्न कानुनी अडचन उत्पन्न भएको हो । तर यसबाट प्रतक्ष्यरुपमा स्थानीय सेवाग्राही सर्वसाधारण जनताहरु नै प्रभावित बनेका छन ।

नगरपालिकाले सेवा बन्द गर्नुको सट्टा उसले कसरी सेवालाई सहज बनाउन सकिन्छ भन्ने बिषयमा ध्यान दिनु पर्ने थियो । कर्मचारी अभाव भएको भन्दै सेवा बन्द गर्नु जनप्रतिनिधिहरुको कमजोरी हो । स्थानीय सरकार आफै स्वयक्त हुन्छ । सानातिना अवरोध र व्यवधानलाई पन्छाउदै नगरपालिकाले सेवा प्रवाहलाई सुचारु गर्न जरुरी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here