वीरगञ्ज,वीरगञ्जस्थित नारायणी अस्पतालमा पाँच सय शैयाको भवन निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन माग गर्दै नागरिक समाजको आयोजनामा शनिवार दबाब ¥यालीको आयोजना गरिएको छ ।अस्पताल परिसरबाट सुरु भएको ¥यालीमा विभिन्न नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । ¥याली नगरको विभिन्न स्थान हुँदै घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै सहभागीहरूले नारायणी अस्पतालको बहुप्रतीक्षित भवन निर्माण प्रक्रिया झन्डै पाँच वर्षदेखि अलपत्र परेकोभन्दै यसलाई यथाशीघ्र अघि बढाउनुपर्ने माग गरेका छन् ।
उनीहरूले अस्पतालका पूर्वाधार अभावका कारण वीरगञ्ज सहित आसपासका जिल्लाहरू बारा, रौतहट, सर्लाही र भारतको बिहार र उत्तर प्रदेश राज्यका समेत गरी लाखौँ नागरिकले स्वास्थ्य सेवामा कठिनाइ भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । अस्पताल भवन निर्माणका लागि सरकारबाट बजेट विनियोजन भइसकेको भए पनि कानुनी विवादका कारण काम रोकिएको भन्दै नागरिक समाजले अदालतलाई समेत छिट्टै छिनोफानो गर्न अनुरोध गरेको छ ।
¥यालीमा सहभागी वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले अस्पताल निर्माण आउने पुस्ताको लागि आवश्यक रहेको बताउनुभएको थियो ।
यस्तै आम नागरिक समाज वीरगञ्जको तर्फबाट बोल्दै पूर्वप्रदेशसभा सदस्य राजेश्वर साह तेलीले नारायणी अस्पतालबाट आफ्ना पूर्वजदेखि आफूहरूले सेवा लिएको बताउँदै यसको पुनर्निर्माण लागि सबै नागरिक समाज एक ठाउँमा आउन आवश्यक रहेको बताउनुभयो ।उहाँले सरकार र सर्वोच्च अदालत यसमा गम्भीर नभए अझै कडा आन्दोलन गर्न आफूहरू बाध्य हुने चेतावनी पनि दिनुभयो । यस्तै, नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले वीरगञ्ज तथा आसपासका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारले तत्परता देखाउनुपर्ने बताउनुभएको छ ।
¥यालीमा सहभागीहरूले अस्पताल निर्माणको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने, अदालतले मुद्दाको छिनोफानो चाँडो गर्नुपर्ने तथा सरकारको चासो बढाउनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।