निजगढ,निजगढमा ‘गायनसम्राट’को उपाधि पाएपछि खुसी बन्नुभएका चर्चित गायक रामकृष्ण ढकालले निजगढबासीप्रति आभार व्यक्त गर्नुभएको छ ।गायक ढकालले शनिवार समाजिक संजाल फेसबुकमा स्टाटस लेखेर आफूलाई सम्मानित गर्ने निजगढ नगरपालिका, निजगढ उद्योग वाणिज्य संघ, निजगढ टाइम्सलगायत सम्पूर्ण निजगढबासीप्रति आभार व्यक्त गर्नुभएको हो ।निजगढ महोत्सवको क्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरीलगायतले ढकाललाई ‘गायनसम्राट’ उपाधिसहित सम्मानपत्र प्रदान गरेका थिए । ‘सम्पूर्ण आयोजक टिम र निजगढबासीहरुले मप्रति व्यक्त गर्नुभएको यो सद्भावका निमित्त हार्दिक नमन, फेरी पनि यहाँहरुसँग नजिक हुन पाएर हर्षित छु ।’ उहाँले सामाजिक संजालमा लेख्नुभएको छ ।

निजगढमा जारी प्रथम निजगढ महोत्सवमा एकल गायन प्रस्तुत गर्न आउनुभएका ढकाललाई ‘गायनसम्राट’को उपाधिसहित बुधवार सम्मान गरिएको थियो । निजगढबाटै गायन यात्रा शुरु गुर्नभएका ढकालले काठमाण्डौं फर्किएपछि आफ्नो फेसबुक पेजमा अगाडि लेख्नुभएको छ– हुन त मेरो निजगढ बसाइँ त्यति लामो हुन पाएन । तर पनि निजगढ मेरो जन्मभूमि हो, हुर्केको, खेलेको गाउँमात्रै होइन, यही भूमिबाट मैले गायन यात्रामा पाइला सारेको हुँ ।’सम्मान कार्यक्रममा तपाईहरु जति खुसी देखिनुहुन्थ्यो, मैले त्योभन्दा निक्कै बढी खुसी महशुस गरिरहेको थिएँ। यो सम्मानले मान्छेको जीवन र जन्मभूमिको सम्बन्धको महत्व गहिरोसंग अनुभूति गराएको छ । उहाँले भन्नुभएको छ । आफ्नो जन्मथलोमा पाएको यो अपार माया र स्नेहले भाबुक पनि भएँ । आफ्नो बाल्यकाल र सँगै खेली हुर्केको साथीसँगी संग छुट्टिएको कुराले पिरल्यो ।’ उहाँले फेसबुक स्टाटसमा लेख्नुभएको छ ।

निजगढ नगरपालिकाका मेयर सुरत पुरी, संविधानसभाका सदस्य पुरुषोत्तम पौडेल, उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, निजगढ टाइम्सका संचालक इन्दिप कोइरालालगायतले गायनको माध्यमबाटनिजगढको ख्याति देशविदेशमा फैलाएकोभन्दै ढकाललाई ‘गायनसम्राट’को उपाधि दिएर सम्मान गरेका हुन ।

Leave a Reply