निजगढ,खानेपानी मन्त्री प्रदीप यादवले मधेसका जिल्लाहरुमा करोडौंको लगानीमा निर्माण गरिएका तर संचालनमा आउन नसकेका ओभरहेड ट्याङ्कीबाट छिट्टै पानी वितरण तयारी गरिएको बताउनुभएको छ ।निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौं बार्षिक साधारण सभाको उद्धाटन शत्रमा बोल्दै मन्त्री यादवले आइतवार सो कुरा बताउनुभएको हो ।

करोडौंको लगानीमा निर्माण गरिएका र लामो समयदेखि त्यसको पानी उपभोक्ताले प्रयोग गर्न नपाएकोले जतिसक्दो चाडो संचालनमा ल्याउने तयारी भइरहेको उहाँको भनाई छ । ‘करोडौ खर्च गरेर निर्माण गरिएका ओभरहेड ट्याङ्कीहरु बेवारिसे अवस्थामा छन, उहाँले भन्नुभयो, अब आवश्यक संरचना र सामग्री थप गरेर प्रयोगमा ल्याउने छु ।’ मन्त्री यादवले आफूले त्यस्ता ओभरहेड ट्याङ्कीको अध्ययन पूरा गरिसकेको र आगामी वर्ष बजेट व्यवस्था गरेर संचालनमा ल्याउने बताउनुभयो ।
राजनीतिक स्वार्थका कारण विगतका संघीय सरकारले संरचनामात्रै निर्माण गरेको र पानी वितरण गर्नेतर्फ चासो नराखेकाले ओभरहेड ट्याङ्की निर्माण भएर पनि संचालनमा आउन नसकेको बताउनुभयो । उहाँले मधेसका ८ जिल्लामा मात्रै प्रयोगमा आउन नसकेका त्यस्ता ओभरहेड ट्याङ्कीको संख्या २८० वटा रहेको पनि जानकारी दिनुभयो ।

उहाँले ‘सुनकोशी मरिन ड्राइभर्शन’ आयोजनाको पानी मधेसका जिल्लामा खानेपानीको लागि पनि प्रयोग गर्ने गरी योजना अघि बढाएको पनि बताउनुभयो । ‘यो आयोजनाको बारेमा काम धेरै अगाडि बढिसकेको छ, उहाँले भन्नुभयो, ‘सुनकोशी मरिन ड्राइभर्शनको पानी सिँचाईमा मात्रै होइन, पिउने पानीको लागि पनि प्रयोग गर्नेबारेमा अध्ययन भइसकेको छ ।’ यसको लागि प्रारम्भीक अध्ययन पूरा भइसकेको र यही माघ महिनाभित्र डिपिआर निर्माणको लागि मन्त्रालयले बोलपत्र आह्वान गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।आयोजना निर्माण भएपछि सप्तरीदेखि पर्सासम्मका उपभोक्तालाई सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध गराउन सकिने उहाँको भनाई छ ।

मन्त्री यादवले हेटौडाको राप्ती नदीको पानी ल्याएर मधेसको बारा, पर्सा र रौतहट जिल्लामा शुद्ध पानी वितरण गर्ने योजना पनि उहाँले सुनाउनुभयो । सुनकोशी मरिन ड्राइभर्शन र राप्ती नदीको पानी ल्याएर वितरण गरेपछि मधेसमा खानेपानीको कुनै अभाव नहुने पनि बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद अच्युत मैनालीले काठमाण्डौं– निजगढ फास्टटर्याक, प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्ग र रक्सौल– काठमाण्डौं रेलमार्ग जस्ता ठूला आयोजनाले निजगढमा विकासमा कायपलट ल्याउने बताउनुभयो । सांसद मैनालीले निजगढमा हालै अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको ‘निजगढ बृहत खानेपानी आयोजना’ले यस क्षेत्रको विकासको लागि थप मद्दत पुगेको दाबी गर्नुभयो ।त्यसैगरी कार्यक्रममा बोल्दै पूर्वमन्त्री एंव संविधान सभा सदस्य पुरुषोत्तम पौडेलले निजगढको खानेपानी वितरणको इतिहासबारे चर्चा गर्दै तराई क्षेत्रमा पानीको संकट बढ्दै गएको र यसको लागि चुरे संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुदर्शन कोइरालाले आगामी योजनाबारेको प्रतिवेदन पेस गर्दै बृहत खानेपानी आयोजना कार्यन्वनको अवस्थामा रहेको र त्यसपछि उपभोक्ताहरुलाई खानेपानीको थप सुविधा पुग्ने बताउनुभयो । उहाँले खानेपानीको शुल्क समयमै नतिर्ने उपभोक्ताहरुलाई थप १० प्रतिशतले जरिवाना वृद्धि गर्ने प्रस्तावि पनि सभामा राख्नुभएको थियो ।
कोइरालाको अध्यक्षतामा भएको सो साधारण सभामानिजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरी, उपप्रमुख सोममाया थिङ्ग, पूर्वनगर प्रमुख सुरेश खनाललगायतस्थानीय विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरुले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन सचिव यतिराज सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुनमाया लोप्चन, कोषाध्यक्ष गिता भट्टराईले आर्थिक प्रतिवेदन र लेखा संयोजक रोशन शर्माले आन्तरिक लेखा सुपरीवेक्षण प्रतितिवेदन पेस गर्नुभएको थियो ।

Leave a Reply