काठमाडौँ — अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिचर फिल्म ‘मास्टर्नी’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। प्रियंका स्वयं मुख्य भूमिकामा देखिने यस फिल्मको पोस्ट–प्रोडक्सन कार्य हाल भारतको प्रतिष्ठित ‘यशराज स्टुडियोज्’मा भइरहेको छ।
पोस्ट–प्रोडक्सनका लागि प्रियंका आफ्ना श्रीमान् आयुष्मान देशराज जोशीसँगै भारतमा रहेकी छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत डबिङ गरिरहेको तस्वीर सार्वजनिक गर्दै ‘यशराज स्टुडियोज्’मा काम गर्नु आफ्नो लागि सपना पूरा भएजस्तै अनुभव भएको उल्लेख गरेकी छन्।
डबिङका क्रममा प्रियंकाको भेट बलिउड अभिनेता अनिल कपूरसँग समेत भएको छ। उनले अनिलसँग खिचिएका तस्वीर सार्वजनिक गर्दै आफूलाई ‘फ्यान गर्ल’को रूपमा प्रस्तुत गरेकी छन्।
भारतीय निर्देशक सुभेन्दू घोषको निर्देशनमा बनेको यस फिल्मको पोस्ट–प्रोडक्सन पनि उनकै सक्रियतामा भारतमै भइरहेको हो। ‘मास्टर्नी’लाई नेपालीसहित ८ भाषामा तयार पारिँदैछ। फिल्मलाई हिन्दी, बंगाली, पञ्जाबी, तमिल, तेलुगु, मलायलम र भोजपुरी भाषामा डब गरी नेपाल तथा भारतमा प्रदर्शन गरिने तयारी छ।
एक शिक्षिकाको कथामा आधारित यस फिल्ममा प्रियंका कार्कीसहित सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाहीलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मका निर्माता प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुन्।
फिल्मको कथा स्वयं प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्न्यातले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका र शान बस्न्यातको सहकार्य रहेको छ।



















