जनकपुरधाम,राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आउनुभएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमवार नागरिक अभिनन्दन गरिएको हो ।जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।देश र लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै पौडेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेकपा एमालेकी नेतृ जुली महतो, कांग्रेस नेता विमलेन्द्र निधि, जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साह लगायतले अभिनन्दन गरेका हुन् ।राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा प्रयोग गरिएको छ । राष्ट्रपति पौडेललाई भगवान रामसँग तुलना गर्दै अभिनन्दन पत्रमा भनिएको छ, ‘त्रेतायुगमा भगवान राम जनकपुरधाम आएपछि नगरबासी जसरी हर्ष विभोर भएका थिए । त्यस्तै तपाईको आगमनले जनकपुरवासी हर्ष विभोर भएका छन् ।’यस्तै राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गरी ठूलो समस्या समाधान गरेको भन्दै पौडेलको प्रशंसा समेत गरिएको छ । नागरिक अभिनन्दनका क्रममा राष्ट्रपति पौडेलसमक्ष जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्नका लागि आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ ।कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नेपाल सरकारले जनतालाई अधिकार दिने विषयमा कुनै कन्जुस्याइ गर्न नहुने बताउनुभएको छ । उपमहानगरपालिकाले गरेको अभिनन्दन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।संविधानले नै संघीयता, गणतन्त्र र लोकतन्त्रलाई कार्यान्वयनमा ल्याउन भनेकाले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सरकारलाई उहाँले निर्देशन समेत दिनुभयो ।राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र रुपान्तरणमा मधेसको सबल भूमिका रहदैआएको चर्चा गर्नुहुँदै नेपालको राष्ट्रिय एकताको चुरो नै मधेशमा रहेको बताउनुभयो ।नेपालको समथर फाँट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति, सम्मान र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रि एकता सुदृढ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राष्ट्रपति पौडेललाई ध्यानाकर्षण गराउँदै संघीयताको पूर्ण कार्यान्वयन गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले चाहेर पनि जनअपेक्षाअनुसार काम गर्न नपाइरहेको अवस्थामा संघीयतालाई बलियो बनाउने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।उहाँले सिंचाइँको सुप्रबन्ध गरेर कृषिको आधुनिकीकरणमार्फत कृषि क्रान्ति गर्ने हो भने मधेसले खाद्यान्न आपूर्तिमा सिङ्गो नेपाललाई एकैसाथ काँध हाल्न सक्छ भन्नेमा आफूलाई विश्वास रहेको उहाँले बताउनुभयो । राष्ट्रपति पौडेलले अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन नसक्ने बताउनुभयो ।यसअघि राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले बिहान विश्वका हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको थियो ।जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उहाँलाई वैदिक परम्पराअनुसार पुजा अर्चना गराउनुभएको थियो । राष्ट्रपति पौडेलले जानकी माताको पुजा गरेपश्चात मन्दिरको परिक्रमा गर्नुभएको थियो ।राष्ट्रपति पौडेलसहितका टोलीलाई मन्दिर परिसरमा महन्थ दासले फुलमालासहित खादा लगाएर सम्मान समेत गर्नुभएको थियो । आधा घण्टाका लागि मन्दिरमा सर्वसधारणको प्रवेशमा रोक लगाइएको थियो भने नगर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

Leave a Reply