निजगढ,निजगढ नगर कार्यपालिकामा अधिकृत छैठौं तहमा कार्यरत रविन घिमिरे र कार्यालयका सूचना प्रविधि अधिकृत प्रमोद न्यौपानेको बिदाइमा निजगढ नगरपालिकाले बुधवार ‘फेरि भेटौला’ कार्यक्रमको आयोजना गरेको छ ।
नगरपालिका कार्यालयमा ५ वर्षदेखि काम गर्दैआउनुभएका घिमिरेको बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौडामा पदस्थापन भएपछि कार्यालयले बिदाई कार्यक्रमको आयोजना गरेको हो । बागमती प्रदेश निजामती सेवा अन्तर्गत अधिकृत सातौं तहको परीक्षा उर्तीण गरेपछि घिमिरेको हालै मन्त्रिपरिषद कार्यालय हेटौडामा पदस्थापना भएको थियो ।

इमान्दार र स्वच्छ छविका अधिकृत घिमिरे निजगढमा कुशल राष्ट्रसेवक कर्मचारीको रुपमा चिनिनुहुन्थ्यो । सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका घिमिरेले अधिकृत छौठौं स्थानीय सरकारी सेवामार्फत निजगढ नगरपालिकाबाट सेवा शुरु गर्नुभएको हो ।त्यसैगरी उच्च शिक्षा अध्ययनका लागि क्यानाडा प्रस्थान गर्न लाग्नुभएका अर्का अधिकृत न्यौपानेको पनि सोही कार्यक्रममा बिदाई गरिएको थियो ।निजगढ नगरपालिका वडा नम्बर ८ घर भएका अधिकृत न्यौपानेले निजगढ पालिकामा ४ वर्ष सेवा गर्नुभएको छ ।

कार्यक्रममा निजगढ नगर कार्यपालिकाको कार्यालयको तर्फबाट अधिकृत घिमिरे र न्यौपानेलाई नगर प्रमुख सुरथ पुरीले मायाको चिनो पनि प्रदान गर्नुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख पुरीसहित उपप्रमुख सोममाया थिङ्गज्, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा अध्यक्षहरु, कार्यालयका कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply