कलैया,विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ्गका कारण निजगढ लगायत बारा जिल्लाको ग्रामीण भेगमा बसोबास गर्ने सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।दिनहुँ जसो पटकपटक लाईन काटिने र कहिलेकाँही लामो समयसम्म पनि नआउने समस्याले सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो । निजगढ क्षेत्रमा बुधवार बिहान, दिउसो र साँझमा समेत गरी ४ पटकसम्म बत्ति गएको र मंगलवार पनि यसैगरी बिद्युत अवरुद्ध बनेको थियो ।
निजगढसहित जिल्लाकोमनहर्वा, श्रीपुर, जैतापुर, भोडहा, झिट्कैंया, महेशपुर, दोहरी, मझौलियालगायत ग्रामीण क्षेत्रका उपभोक्ताले यस्तो समस्या बेहोर्दैआएका छन ।बारम्बार लाईन काटिँदा उपभोक्तालाई समस्या हुने गरेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ उचिडीका रविन पराजुलीले बताउनुभयो । बिहान, बेलुका र दिउँसो पनि अनियमित तरिकाले लाईन काटिने गरेकोले धेरै खालका समस्या बेहोर्नुपरेको उहाँको गुनासो छ ।
विद्युत अनियमितताले कुटानी पिसानीसँगै स्थानीय संघ, संस्था तथा सरकारी निकायबाट प्रवाह हुने सेवा समेत प्रभावित हुदैआएको छ । ‘लाईन नहुँदा गर्मी बढेर कार्यालयबाट सेवा प्रदान गर्न कठिनाई हुने गरेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष चतुरबाबु वाग्ले बताउनुभयो । छिनछिनमा लाईन आउने र जाने समस्याले गर्दा घरमा जडान गरिएको टेलिभिजन, फ्रिज लगायतका विधुतीय सामग्रीमा समेत क्षति पुग्ने गरेको र विधुत अवरोधका कारण किसानलाई गहुबालीमा सिँचाई गर्न समस्या परेको वडा अध्यक्ष वाग्ले भनाई छ ।यता, नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखाले विद्युत प्रशारणमा प्रयोग भएका पुराना संंरचना र प्रशारण क्षेत्र ठुलो हुँदा विद्युत आपूतिमा समस्या भइरहेको बताएको छ ।

















