रौतहट,रौतहटमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर १ बलहरी गाउँ तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले घरायसी विवादमा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।
हँसिया प्रहारबाट ३५ वर्षीय सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो बागमती नदीको बगरमा घाँस काट्न गएका पति पत्नीबिच विवाद हुँदा वाइबाले श्रीमतीमाथि आक्रमण गरेका थिए ।
अत्यधिक मदिरा सेवन गरी वाइबाले श्रीमतीको हत्या गरेको प्रहरीको भनाई छ । श्रीमतीको हत्या गरेलगत्तै वाइबाले घरमा आएर आफ्नो घाँटी हँसियाले रेटेका थिए ।
सिकिस्त घाइते भएका उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।घटनास्थलमा रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ समेतको टोली पुगेर अनुसन्धान थालेको छ ।


















