निजगढ,निजगढ ८ स्थित गौरीशंकर माविको ५१औं जन्मोत्सव तथा अभिभावक दिवस पनि बिहीवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौलाको सभाध्यक्षता र मधेस प्रदेश सभाकी सदस्य मिना लामाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन पेस गर्दै व्यवस्थापन समितिका अध्यक्ष बर्तौलाले नमूना विद्यालय कार्यक्रम अन्तर्गत गुणस्तरीय शिक्षा प्रदान गर्दैआएको बताउनुभयो । उहाँले नमूना विद्यालय शैक्षिक सुदृढीकरण कार्यक्रम अन्तगत ४० जना शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको र १५ वटा कक्षामा प्रोजेक्टर जडान गरी प्रविधिमैत्री कक्षा संचालन गरिदैआएको जनकारी दिनुभयो ।
उहाँले शैक्षिक गुणस्तर कायम गर्न कम्प्युटर प्रयोगशाला जस्त अन्य पूर्वाधारको पनि विकास गरिएको भन्दै प्राविधक शिक्षातर्फ बाली विज्ञान संकायका विद्यार्थीहरुले मधेस प्रदेशमा नै उत्कृष्ट नतिजा हासिल गदैआएको र उनीहरुले विद्यालयको जमिनमा कृषि उत्पादन गरेर ‘कमाउदै सिक्दै’ गरेको पनि सुनाउनुभयो ।
कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, पूर्व नगर प्रमुख सुरेश खनाल, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) का निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नेपाल एकिकृत समाजवादी पार्टी निजगढका अध्यक्ष भिमप्रसाद सापकोटा, जनमत पार्टी निजगढका अध्यक्ष मोजहर मन्सुर, विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष टेकबहादुर लामा, विद्यालयका पूर्व प्रधानाध्यापक सुदर्शन कोइराला र गौरीशंकर क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठलगायतले बोलेका थिए ।कार्यक्रममा एसईई परीक्षामा ए प्लस सहित उत्कृष्ट नतिजा हांसिल, विद्यालयको आन्तरिक परीक्षा र अतिरिक्त क्रियाकलामा विजयी हुने तथा राष्ट्रपती रनिङ्ग शिल्डमा पदक जित्न खेलाडी विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिनुको साथै विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषबाट पुरस्कृत गरिएको थियो ।कार्यक्रम स्थलमा स्टल राखेर विद्यार्थीहरुले विज्ञान, कृषि र खाद्य सामग्रीको प्रदर्शन गर्नुको साथै गित, नृत्य र चेतनामूलक प्रहसन समेत प्रस्तुत गरेका थिए ।