निजगढ,बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीले निजगढ उद्योग बाणिज्य संघले आगामी माघ ११ गतेदेखि २२ गतेसम्म निजगढमा आयोजना गर्न लागेको “प्रथम निजगढ महोत्सव– २०८१” को आयोजना स्थलको बुधवार अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
प्रजिअ अधिकारीले निजगढ ८ स्थित खयरघारी खेलमैदानमा पुगेर अध्यक्ष दिपेन्द्र श्रेष्ठलगायत उद्योग बाणिज्य संघका पदाधिकारीहरुसंग महोत्सवको तयारीबारे जानकारी लिनुभएको थियो । प्रजिअ अधिकारीले शान्ति सुरक्षाको अवस्था बारे जिज्ञासा राख्नुको साथै महोत्सव भव्य रुपमा सफल पार्न अपनाउनुपर्ने उपायको बारेमा सुझाव दिनुभएको महोत्सव प्रचार समितिका संयोजक इन्दिप कोइरालाले जानकारी दिनुभयो ।
महोत्सवको शुक्रवार दिउसो संघीय सरकारका गृहमन्त्री रमेश लेखकले एक समारोहबीच उद्धाटन गर्ने कार्यक्रम तय भएको छ ।यसैबीच महोत्सव स्थलमा स्टल निर्माण र घेराबारा गर्ने काम तीव्र पारिएको छ । महोत्सव व्यवस्थापक राजधानी राइड्स, काठमाण्डौंले घेराबारा र स्टलमा पण्डाल राख्ने काम तीव्र पारेको हो । हालसम्म निजगढ र बाहिरका गरी ६० वटा बुकिङ्ग भइसकेको महोत्सव प्रचार समितिका संयोजक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा बाल उद्यान, मनोरञ्जनका विभिन्न साधन, कृषि र औद्योगिक उत्पादनको बिक्री कक्षसंगै ख्यातिप्राप्त गायक र हास्य कलाकारहरुले प्रस्तुति दिनेछन ।“कृषि÷पर्यटन तथा औद्योगिक व्यापार, समृद्घिको आधार” भन्ने मुख्य नाराका साथ संघले निजगढमा पहिलो पटक महोत्सवको आयोजना हुन लागेको हो । महोत्सवमा दैनिक हजारौं व्यवसायी र सर्वसाधारणले अवलोकन तथा कारोबार गर्ने र यसबाट स्थानीय तथा स्वदेशी उत्पादनसंगै कला संस्कृतिको प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा राखिएको उद्योग बाणिज्य संघले जनाएको छ ।