वीरगन्ज,प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ । आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री बन्ने दौड थालेका छन ।
मधेस प्रदेशमा समानुपातिकतर्फको सिट बाँडफाँट नटुंगिए पनि सीके राउत नेतृत्वको जनमत पार्टी निर्णायक बनेको छ । प्रत्यक्षतर्फका ६४ सिटमध्ये एमाले १५, कांग्रेस १३, जसपा ९, लोसपा ७, जनमत पार्टी ६, माओवादी र एकीकृत समाजवादी ४–४ स्थानमा विजयी भएका छन ।
विभिन्न दलबाट बागी उठेका ६ जनाले स्वतन्त्र रूपमा जितेका छन । प्रत्यक्षतर्फ २९ सिट जितेको सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब २० सिट ल्याउने आकलन गरिएको छ ।
प्रत्यक्षतर्फ २२ सिट जितेको एमाले–जसपा–राप्रपा गठबन्धनले समानुपातिकमा १९ सिट पाउने आकलन गरिएको छ ।
त्यसैगरी प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा करिब ४ सिट पाउने देखिन्छ । यसरी हेर्दा प्रदेशसभाको सत्ता समीकरणको अंकगणित मिलाउन जनमत पार्टीको सिट संख्या निर्णायक हुने देखिन्छ ।
यसबाहेक विभिन्न दलबाट बागी उठेर जितेका स्वतन्त्र ६ जना पनि मधेसको सत्ता समीकरणमा निर्णायक हुन सक्छन । उनीहरू आफ्नै दलतिर ढल्किने सम्भावना छ । एमाले र जसपा सहकार्यले निरन्तरता नपाउने अवस्थामा मधेसको सत्ता समीकरण पनि नयाँ सम्भावनातर्फ अघि बढेको छ । सत्ता गठबन्धनको सरकार बन्ने अवस्था आएमा कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव प्रमुख दाबेदार हुनुहुन्छ ।
संविधानसभाका सभासदसमेत रहेका यादव रौतहट १ (२) बाट निर्वाचित हुनुभएको हो । निर्वाचनका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उहाँलाई मुख्यमन्त्री उम्मेदवार भन्दै चिनाउनुभएको थियो ।
यसबाहेक प्रदेशका पूर्वमन्त्री रामसरोज यादव र पर्सा कांग्रेसका सभापति जनार्दनसिंह क्षेत्री पनि मुख्यमन्त्रीका आकांक्षी हुन ।
जसपाले सत्ता गठबन्धनसँग निकटता बढाउँदै हालका मुख्यमन्त्री लालबाबु राउतलाई निरन्तरता दिने प्रयास गरेको छ ।



















