हेटौँडा,काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्टट्रयाक)को भौतिक प्रगति साढे ३७ प्रतिशत पुगेको बताइएको छ । निर्माणको जिम्मेवारी पाएको नेपालीले सेनाले आयोजनाको समष्टिगत भौतिक प्रगति ३७.६० प्रतिशत पुगेको जानकारी गराएको हो ।त्यस्तै, आयोजनाको वित्तीय प्रगति ३९.५६ प्रतिशत रहेको छ । आयोजना निर्माणको क्रममा हालसम्म ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको सेनाले जानकारी दिएको छ ।

कुल ७१ किलोमिटर लम्बाइको फास्टट्रयाक २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनालाई विभिन्न १३ वटा प्योकजमा छुट्याएर निर्माण भइरहेको छ । प्रस्थानबिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको छ ।द्रुतमार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर फराकिलो हुनेछ । आयोजना अन्तर्गत ललितपुरमा ९, काठमाडौंमा ४.६, मकवानपुर ४९.७७ र बारामा ७.६ किमि सडक रहनेछ । द्रुतमार्गमा १०.९७९ किमि लम्बाइका ७ वटा सुरुङ रहने छ । हालसम्म लेनडाँडाको १६१२ मिटर, धेद्रेको १७२८ मिटरको सुरुङ ब्रेक थ्रु भइसकेको छ । त्यस्तै, ३३५५ मिटर लामो महादेवटार सुरुङको ६५ प्रतिशतभन्दा बढी काम सकिएको छ ।

त्यस्तै, १ हजार मिटर लामो देवीचौर, ३९० मिटर लामो सिसौटार र २ हजार २५० मिटर लामो चन्द्रामभीर सुरुङको पोर्टल तयारीकार्य भइरहेको बताइएको छ । ५८३ मिटरको मौरीभीर सुरुङको खरिद सम्झौताका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भएको सेनाले जनाएको छ ।यो सडकमा विभिन्न स्थानमा कुल १२.८८५ किमि लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । तीमध्ये ८५ स्थानमा निर्माण हुने पुलको खरिद सम्झौता सम्पनन भएको छ । ८१ मिटरसम्म अग्ला विभिन्न प्रकृतिका पुलको फाउण्डेसन तथा सबस्ट्रक्चर र सुपर स्ट्रक्चरको काम भइरहेको जनाइएको छ ।

आयोजनाका लागि कुल १७ हजार ६५१ रोपनी जग्गा अधिग्रहण गनुपर्नेछ । जसमा व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी रहेको छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएकोमा ४ हजार ८१८ रोपनी जग्गा अधिग्रहण सम्पन्न भइसकेको सेनाले जनाएको छ ।

बुदुनेमा दुईवटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक-एक वटा इनटरचेञ्ज र ट्राल प्लाजा निर्माण गरिनेछ । २०६४ मा पहिलोपटक आधादर्जन मन्त्रीले पिक, साबेल चलाएर शीलान्यास गर्दा ७४ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने भनिएको थियो ।त्यसपछि दोस्रोपटक शीलान्यास गर्दा १ खर्ब ७५ अर्ब रुपैयाँ लगानीमा सम्पन्न गर्ने भनिए पनि हाल लागत बढेर २ खर्ब १२ अर्ब रुपैयाँ पुगेको जनाइएको छ । चीनका ६ वटा फरक–फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ ।मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार यो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए ।द्रुतमार्ग सम्पन्न भएपछि तराईबाट काठमाडौंसम्मको दूरी १ घण्टामा पुगिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको पेट्रोलियमपदार्थ र मोटरपार्टस्को बचत हुने अनुमान गरिएको छ ।

Leave a Reply