वीरगन्ज,वीरगन्जको मरियम लेदर उद्योगले सोझै सिर्सिया नदीमा फोहोर तथा फोहोर पानी फाल्ने गरेको भेटिएको छ ।

सिर्सिया नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन गर्न गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले मंगलबार अनुगमनका क्रममा यस्तो फेला पारेको हो ।
उद्योगले छालाबाट निस्केको फोहोर पदार्थका साथै उद्योग संचालन गर्दा निस्केका केमिकलयुक्त दुर्गन्धित फोहोर पानी सोझै सिर्सिया नदीमा फाल्ने गरेको भेटिएको अनुगमन टोलीमा रहेका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।
उद्योगबाट निस्केको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउनु पर्ने कानुनी व्यवस्था भए पनि यहाँका अधिकांश उद्योगहरुले सोझै दुर्गन्धित पानी नदीमा फाल्दै आएका छन् ।
मरियम लेदर उद्योगमा पनि पानी प्रशोधन केन्द्र नभेटिएको महानगरका वातावरण निरीक्षक प्रदीप साहले बताउनुभयो ।
अनुगमन टोलीले मंगलवार मरिअमसहित नारायणी लेदर र निम्बसको पनि अनुगमन गरेको छ ।
अनुगमन गरेकामध्ये नारायणी लेदरले फोहोर पानी प्रशोधन गरेर फाल्ने गरेको भेटिएको महानगरका वातावरण निरीक्षक साहले जानकारी दिनुभयो ।
त्यस्तै निम्बस उद्योगको उत्पादन अहिले बन्द रहेकाले त्यहाँबाट पानी निकासा नभेटेको पनि उहाँले बताउनुभयो । निम्बसले पानी प्रशोधन केन्द्र भने जडान गरेको छ ।
नदी आसपासमा कम्तिमा पनि एक सयभन्दा बढी उद्योगहरु रहेको र ती उद्योगले जथाभावी फोहोर पानी फाल्दा अहिले सिर्सिया दुर्गन्धित बनेको छ ।
महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा रहेको टोलीले पहिलो चरणमा अनुगमनलाई निरन्तरता दिएको हो ।
‘पहिलो चरणमा अनुगमन र सचेत गर्ने काम गर्दै हिँडेका छौँ,’ उपमेयर आलमले भन्नुभयो, ‘यति गर्दा पनि नदी प्रदुषण नियन्त्रण नभए फोहोर पानी नदीमा फाल्ने उद्योगलाई कारवाही गरिने छ ।’
स्थानीय निर्वाचनको चुनाव प्रचारको क्रममा सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउने प्रतिबद्धता जनाएका महानरका मेयर राजेशमान सिंहले निर्वाचनका बेला गरेको बाचाअनुरुप सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउने अभियान थालिएको जनाउनुभएको छ । त्यही अनुरुप नदीमा भइरहेको प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउन पहिलो चरणमा अनुगमन अघि बढाइएको उहाँले बताउनुभयो ।
मंगलबार उद्योगको अनुगमन गर्न गएको टोलीमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखा प्रमुख देवेन्द्र चौधरी, प्रहरी निरीक्षक दावा तेन्जी शेर्पा, वीरगन्ज उद्योग वाणिज्य संघका अनिलकुमार अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

















