कलैया,जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य प्रकाश चौगाईं र कलैया उपमहानगर कमिटी अध्यक्ष शिवनाथ पटेलले बिहीवार पार्टीको पदबाट राजीनामा दिनुभएको छ । केन्द्रीय सदस्य चौगाईं र उपमहानगर अध्यक्ष पटेलले लिखित रुपमा राजीनामा दिंदै पार्टी नेतृत्वसँग बुँदे प्रश्न समेत गरेका छन् ।
पार्टीले गठबन्धन अनुसार चुनाव लड्ने निर्णय गरे पनि बाराको दुईटा उपमहानगर मध्ये कलैया उपमहानगरपालिकामा गठबन्धन तर जीतपुरसिमरा उपमहानगरपालिकामा जसपाबाट किन उम्मेद्वारी ? भनेर नेतृत्वसँग उनीहरुले प्रश्न गरेका छन् ।
चौगाईं र पटेलले बारामा भएको गठबन्धनले केही नेताको स्वार्थ र नियत देखिएको भन्दै फेटा गाउँपालिका र सुवर्ण गाउँपालिकामा के भएको हो भनेर प्रश्न समेत उठाएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहको निर्वाचनमा जसपा नेपालका मधेस प्रदेश संयोजक एंव बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादव र वन मन्त्री रामसहाय यादवले आफ्नो निहित स्वार्थअनुरुप पार्टीको टिकट वितरण गरेको भन्दै केन्द्रीय सदस्य चौगाई र पटेल असन्तुष्ट बनेका हुन ।
स्थानीय तहको निर्वाचनको मुखमा जसपा नेपाल बाराका जिम्मेवार नेताहरुले पार्टीबाट राजिनामा दिँदा गठबन्धनमा असर पर्नसक्ने आंशका गरिएको छ ।