निजगढ,जाडो बढेपछि बाराको कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाले फेरि पनि नगर क्षेत्रभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विदाको घोषणा गरेका छन ।जाडोले विद्यार्थीलाई प्रभावित पारेको भन्दै कलैया उपमहानगरपालिकाले दुई दिन र जीतपुरसिमराले १ दिन विदाको घोषणा गरेका हुन ।
कलैया उपमहानगरपालिकाका उपसचिव प्रह्लादप्रसाद वर्णवालले आइतवार एउटा सूचना प्रकाशित गरेर माघ ७ र ८ गते विदा दिने जनाउनुभएको छ ।
त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाले पनि एक दिनको लागि विद्यालय विदाको घोषणा गरेको छ ।उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत हरिसप्रसाद भट्टले हस्तक्षर गरेर जारी गरेको सूचनामा माघ ७ गते नगरका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा विदा दिने निर्णय भएको जनाउनुभएको छ ।बढ्दो जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द गर्न निर्णय भएको अघिकृत भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण मधेसको बारा लगायत अधिकांश जिल्लामा २ दिनदेखि फेरि जाडो बढेको छ । निजगढलगागत जिल्लाको उत्तरी भेगमा आइतवार बिहान र मौसम सफा रहेर घाम लागेको भएपनि दिउसो २ बजेपछि बदली भई हुस्सु लागेसंगै जाडो बढेको थियो ।


















