वीरगन्ज,नेकपा एमाले पर्सामा गत आम निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार व्यहोरेपछि नेकपा एमाले पर्सामा भाँडभैलो मच्चिएको छ ।

चुनावमा पार्टीले लज्जास्पद हार बेहोेरेपछि अन्तर्घात गरेको भन्दै कारबाही गरिएको हो । निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरी कारबाही गरेको जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारूले जानकारी दिनुभयो ।

पार्टीलाई चुनावमा हराउन भूमिका खेल्नेहरूलाई कारबाही गरिएको थारूले बताउनुभयो । सचिवालय कमिटीको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमाले पर्साका सचिव मनोज गुप्तासहित १४ जनालाई कारबाही गरिएको उहाँले बताउनुभयो ।

कारबाहीमा परेका सचिव गुप्ता वर्तमान छिपहरमाई गाउँपालिका कार्यपालिका अध्यक्ष पनि हुनुहुन्छ । यसैगरी साधारण सदस्यसमेत नरहने गरी कारबाही पर्नेमा जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव, वडाध्यक्ष वासुदेव महतो थारू, ताजदिन अन्सारी, इमरान हुसेन, मञ्जुर आलम, पवन तिवारी, सुबास साह कानु, वीरेन्द्र साह कानु जिल्ला सदस्य एवं छिपहरमाई गाउँपालिका– ५ का वर्तमान वडाध्यक्ष मौजीलाल साह कानु, मुस्तकिम अन्सारी, रामप्रित महतो थारू, अमानत अन्सारी, नबिजान मियाँलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले पर्साका अध्यक्ष थारुले जानकारी दिनुभयो ।

यस्तै सचिवालय कमिटीको बैठक पार्टीको निर्देशनमा अनुशासन विपरित गतिविधि गर्ने थप २६ लाई स्पष्टीकरण सोधेको छ । महेश दास, नरेश तिकडेवाल, अमोद यादव, संजिवबहादुर छत्कुली, विश्वराज कुर्मी, जितेन्द्र पटेल, सम्सुदिन अंसारी, सुनिल कुशवाहा, रामबाबु साह, प्रमोद यादव, महादेव साह कलवार, इनरदेव चौधरी, रामनाथ चौधरी, रामराज यादव, हरिनारायण चौधरी, रामेश्वर साह कानु, फरिन्द्र कुशवाहा, जितेन्द्र साह कलवार, नाजिर मियाँ, गौरीशंकर साह कानु, महेन्द्र साह कलवार, विनोद साह कानु, विश्वेश्वर यादव, कुरान अली, फुलमहमद मियाँ, रियाजुल मियाँ र ठोरी गाउँपालिका कमिटी अध्यक्ष खगेन्द्रबहादुर श्रेष्ठसहित पालिका कमिटीलाई पनि स्पषटीकरण सोधेको हो ।

प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गर्ने केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजार र प्रदेश कमिटी सदस्य बश्रुद्दिन अन्सारीलाई पनि कारबाहीका लागि केन्द्रिय कमिटीमा सचिवालय कमिटीको बैठकले सिफारिश गरेको छ । हजार र अंसारीले पार्टीका उम्मेदवारहरुलाई हराउने गतिविधि गरेको भन्ने कार्यकर्ताबाट व्यापक गुनासो आएपछि सचिवालय कमिटीले कारबाहीको माग गर्दै केन्द्रिय कमिटीमा सिफारिश गरेको छ । जिल्ला कमिटीले छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाहीको लागि केन्द्रिय कमिटीमा पठाएको जनाएको छ ।

गत मंसिर ४ गते भएको पर्साको चार निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र एमालेले जितेको छ । प्रदेश सभामा भने आठ वटै क्षेत्रमा एमालेले हार व्यहोरेको छ । एमालेले जसपासित गठबन्धन गरेर चुनाव लडेको थियो ।

Leave a Reply