जनकपुर,आगामी मङ्सिर २१ गते जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा तिलक लिएर जानेहरु बाराको गढीमाई मन्दिरमा बास बस्ने भएका छन ।विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा विवाहाको तिलकमा जाने २५१ जना महानुभावहरु एक रात गढीमाई मन्दिरमा बास बसेर अयोध्यातर्फ लाग्ने भएका हुन । विश्व हिन्दू परिषद्को नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।
विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा बिहीवार सम्पन्न बैठकले जनकपुरधामबाट मङ्सिर १ गते बिहान तिलक लिएर प्रस्थान गर्ने र सोही रात्रि बाराको गढीमाईमा विश्राम गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
तिलक लिएर जाने समूह २ गते अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा चम्पत रायलाई हस्तातरण गरिने बताइएको छ ।विश्व हिन्दू परिषद्को सक्रियतामा विगत वर्ष झैं यस वर्ष पनि सामूहिक विवाह हुनेछ । छैटौं पटक हुन लागेको सामूहिक विवाहमा ५१ जोडी युवायुवतीको सहभागिता रहनेछ ।जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकासका लागि प्रचारप्रसार गरिने बताइएको छ । यसैबीच जनकपुरधाममा मङ्सिर २१ गते हुने विवाहपञ्चमी मेलाको धुमधामका साथ तयारी भइरहेको छ ।त्यसका लागि मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिर व्यवस्थापन समितिले तयारी गरिरहेको जनाइएको छ ।


















