वीरगञ्ज,सरकारले चालु आर्थिक वर्ष २०८१-८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ ।हालै बसेको मन्त्रीपरिषद्को बैठकले चालु आवका लागि गत वर्षको तुलनामा प्रतिक्विन्टल २१७ रुपियाँ बढी गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

गत आव २०८०-८१ मा प्रतिक्विन्टल तीन हजार ६५० र आव २०७९-८० मा प्रतिक्विन्टल तीन हजार ३५१ रुपियाँ मूल्य निर्धारण भएको थियो । प्रत्येक वर्ष गहुँको समर्थन मूल्य बढ्दै गएको छ । गहुँको समर्थन मूल्य बढ्दा किसानलाई राहत हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँ आयात हुने गरेकोमा केही वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको आयात हुन सकेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७९-८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यस्तै आव २०७८-७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।यसैबीच नेपालले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । भारत–नेपाल अन्तरसरकारी समिति (आइजिसी) को बैठकमा भारतीय पक्षले नेपालको अनुरोध स्वीकृत भएको जानकारी गराएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारसँग दुई लाख मेट्रिक टन गहुँको माग गरेको थियो ।

Leave a Reply